गैँडाकोटमा बिजुलीको लत्रिएको तारमा परेर दुईवटा बाख्रा मरे

२०७९ चैत ८ बुधबार १६:४५:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट ९ मा बिजुलीको तार भुईमा लत्रिएपछि लत्रिएको तारमा परेर दुईवटा बाख्रा मरेका छन् । हनुमान मन्दिर नजिक पूर्व पश्चिम राजमार्ग किनारमा ११ हजार भोल्टको लत्रिएको तारमा परेका हुन् । 

गैँडाकोट ९ का जालबिर पुर्जाका चराउन लिएर गएका दुईवटा बाख्रा मरेका हुन् । मंगलबार दिउँसो साढे ३ बजे बिजुलीको तार भूईमा लत्रिएर राखेको अवस्थामा जमुनापारी जातका दुई वटा माउ बाख्रालाई करेण्ट लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालयले पुष्टि गरेको छ । 

गर्भावस्थाका दुवै माउ बाख्रा करिब ६० हजार मुल्य बराबारको रहेको पुर्जाले दावी गर्नुभयो । उहाँले त्यस्को क्षतिपूर्तिको माग गर्नुभएको छ । ९ नम्बर वडा कार्यालयले समेत सिफारिस गरेको छ । 

जंगलमा गाडीको ठक्करपछि ढलेको बिजुलीको पोलको लत्रिएको तारमा परेको नेपाल विद्युत प्राधिकरण गैँडाकोट प्रशाखा प्रमुख सुजन रिजालले जानकारी दिनुभयो । प्रशाखामा क्षतिपूर्ति सम्बन्धी व्यवस्था नभएकाले जिल्लामा आवश्यक सहजिकरण गर्ने बताउनुभयो । उहाँका अनुसार लत्रिएको तार मंगलबार नै मर्मत गरिएको छ ।