शिक्षकको अनुभव “कक्षा शिक्षण विद्यार्थीलाई राम्रो”

नवलपरासी पूर्व । एकीकृत पाठ्यक्रमको पूर्ण कार्यान्वयनका लागि कक्षा शिक्षण अपरिहार्य छ । कक्षा १ देखि ३ सम्मको “एकीकृत पाठ्यक्रम” को अवधारणा नेपालमा वि.सं. २०७६ देखि लागू भएको हो । यो नयाँ पाठ्यक्रमले बालबालिकाको समग्र विकासमा जोड दिँदै जीवन सीपमा आधारित शिक्षालाई प्राथमिकता दिएको छ । एकीकृत पाठ्यक्रम सानो कक्षाहरूमा एउटै शिक्षकले पढाउँदा प्रभावकारी हुने भएपनि यो शिक्षण विधि पूर्ण कार्यान्वयनमा आउन सकेको छैन । केही विद्यालयका केही शिक्षकहरुले भने यो अवधारणा कार्यान्वयनमा ल्याएका छन् ।
शिक्षक दिर्पा पौडेल ढकाल र लक्ष्मी सुवेदी लामिछानेले अघिल्लो वर्षदेखि कक्षा शिक्षण सुरु गर्नुभएको छ । एउटै कक्षामा एउटै शिक्षकले सबै विषयका कुरा सिकाउने शिक्षण कार्यलाई कक्षा शिक्षण भनिन्छ । कक्षा शिक्षणमा एउटा शिक्षकले सबै सिकाइको जिम्मेवारी लिएको हुन्छ । यसर्थ पनि कक्षा शिक्षण, विषय शिक्षण भन्दा संवेदनशील छ ।
ढकाल २८ वर्षदेखि र लामिछाने २५ वर्षदेखि शिक्षण कार्यमा हुनुहुन्छ । अहिले दुबै जनाले गैँडाकोट ५ मा रहेको जनक नमुना मावि (आदर्श ब्लक) मा पढाउनुहुन्छ । अघिल्लो शैक्षिक सत्रदेखि ढकालले कक्षा २ मा र लामिछानेले कक्षा १ मा कक्षा शिक्षण गर्नुभएको छ ।
समय व्यवस्थापन कसरी गर्ने ?
कक्षा शिक्षणमा निश्चित समयको पावन्दीमा सिकाउनै पर्ने बाध्यता छैन, यस्तो कक्षामा विद्यार्थीको सिकाईलाई बढी महत्व दिइन्छ । एउटै शिक्षकले सिकाउने भएको हुँदा निश्चित समयको पावन्दी हुँदैन । कक्षा शिक्षणमा ४५ मिनेटको समय तोकेर घण्टी छुट्याइएको छ, आवश्यकता अनुसार थपघट गर्ने गरि सिकाउँदै आएको शिक्षिका दिर्पा पौडेल ढकाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ “कहिलेकाँही लगातार दुई घण्टी एउटै विषयका कुरा सिकाउने गर्दछु ।”
कक्षा १ मा लक्ष्मी सुवेदी लामिछानेले पनि ४५ मिनेटकै समय व्यवस्थापन गर्नुभएको छ । तर यसमा उहाँले पनि आवश्यकता अनुसार परिमार्जन गर्ने गर्नुहुन्छ ।
कक्षा शिक्षण कति सहज कति असहज ?
ढकाललाई एउटै कक्षामा बसिरहँदा कहिले काँहि असहज पनि लाग्छ । कक्षा शिक्षण गर्ने शिक्षकमा धैर्यता अति आवश्यक रहेको बताउँदै उहाँ भन्नुहुन्छ “एउटै कक्षामा बोर फिलिङ हुन्छ, धैर्य गरेर विद्यार्थीसँग रमाउन जान्नु पनि पर्ने रहेछ, एउटा कक्षामा २० जनासम्म विद्यार्थी भए त ठिकै हो, त्यहाँ भन्दा धेरै विद्यार्थी हुँदा एक्लै व्यवस्थापन गर्न गाह्रो हुने रहेछ ।”
कक्षा शिक्षणमा पाठ योजना निर्माण, सोही अनुसार सिकाउनु, पढाउनु, नचाउनुका साथै विद्यार्थीको मूल्याङकन, प्रोफाइल निर्माण, कार्यसञ्चयीका अद्यावधिक, सिकाइ नपुगेका विद्यार्थीलाई छुट्टै सिकाइको व्यवस्थापन लगायतका कार्यसम्पादन एकसाथमा गर्न त्यति सहज नहुने रहेछ । समय व्यवस्थापनमा समस्या छ । हामीलाई सिकाउने जनशक्तिको पनि अभाव छ ।”
शिक्षक लामिछानेले कक्षा शिक्षण चुनौतीपूर्ण हुने बताउनुभयो । कस्तो खालको चुनौती भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ “सबै कुरामा एकल जिम्मेवारी हुने रहेछ । सबै कुराको जस अपजस शिक्षक माथि नै हुन्छ । बच्चा कमजोर भएपनि राम्रो भएपनि शिक्षक नै जिम्मेवार हुने रहेछ । गत शैक्षिक सत्रको एक वर्ष काम गरेपछि मैले जस भने पाएँ, खुसी पनि लागेको छ । सबै विद्यार्थी राम्रो सिकाइ उपलब्धी हासिल गरेर कक्षा २ मा पुगेका छन् । अभिभावकहरु पनि खुसी हुनुहुन्छ । कतिपय अभिभावक आफ्नो सन्तानको सिकाइलाई लिएर चिन्तित हुनुहुन्थ्यो । अहिले अभिभावक पनि खुसी हुनुहुन्छ ।”
विद्यार्थीका लागि कक्षा शिक्षण राम्रो हुने बताउँदै आफ्ना समस्या पनि शिक्षकहरुले सुनाए । शिक्षक लामिछानेले भन्नुभयो “अरु कक्षामा पनि पढाउने बानी, अरु विद्यार्थीसँग घुलमिल हुने बानी थियो, अहिले अरु कक्षाका विद्यार्थीले चिन्दैनन्, आफ्ना कक्षाका विद्यार्थीले भने आमा जस्तै गर्दछन् । अरु कक्षाकाले शिक्षक नै होइनकी जस्तो पनि गर्दछन् । हाम्रा लागि दुःख भएपनि बच्चाका लागि राम्रो रहेछ ।”
कक्षा शिक्षण गर्ने शिक्षक ४/५ दिन विदामा बस्दा आफ्नो कक्षाका विद्यार्थीहरुलाई धेरै नै असर पर्ने रहेछ । यतातर्फ कसैले पनि सोचिसकेको अवस्था छैन । कक्षा शिक्षणलाई प्रभावकारी कार्यान्वयन होस् भन्ने विद्यालय तथा प्रशासनको चाहना हो भने कक्षा शिक्षणमा एकसाथ दुई शिक्षकको व्यवस्थापन वा बैकल्पीक शिक्षकको व्यवस्थापन गरि राख्नु आवश्यक हुने शिक्षकहरूको सुझाब छ ।
कक्षा शिक्षणमा कस्ता सिप आवश्यक हुन्छ ?
सानो कक्षामा कक्षा शिक्षण गर्न सजिलो नै हुन्छ भन्ने भाष्य निर्माण भइरहेको छ । कक्षा शिक्षण, विषय शिक्षण जस्तो होइन नभएको शिक्षक बताउँछन् । शिक्षक ढकाल भन्नुहुन्छ “कक्षा शिक्षण गर्न बहुप्रतिभाशाली शिक्षक चाहिने रहेछ । कथा पनि जान्ने, गीत गाउन जान्ने, नाचगानमा पनि रुचि भएको, सबै विषयका कुरालाई सहज तरिकाले सिकाउन जान्ने, आर्टको पनि ज्ञान भएको, धैर्य स्वभाव भएको, प्रविधिको जानकार भएको, सबै कुरामा निपूर्ण शिक्षकलाई कक्षा शिक्षण सहज छ, अरुका लागि चुनौतीपूर्ण छ ।”
शिक्षक लामिछानेले पनि बहुआयामिक सीप आवश्यक हुने बताउनुभयो । शिक्षकमा नम्र स्वभाव, मातृत्वको भावना, मिठो बोली बचन, धैर्यता, विषयगत कुरामा अब्बल जस्ता सीप शिक्षकमा आवश्यक हुने लामिछानेले बताउनुभयो ।
कक्षा शिक्षणमा बसाई व्यवस्थापन कस्तो हुनुपर्दछ ?
शिक्षक ढकाललाई लाग्छ “बसाई व्यवस्थापन सहज हुनुपर्दछ, भुईंमा बस्दा सहज भए भुँइमा, बेन्चमा बस्दा सहज भए बेन्चमा राख्न सकिन्छ । मैले बेन्चमा बस्ने विद्यार्थीहरुलाई बेन्चमा रोटेशनमा बस्न लगाउँछु । सिकाइका लागि बढी सहजीकरण गर्नुपर्ने विद्यार्थीलाई अगाडि राख्ने गर्दछु । राउण्ड टेबलमा समूह समूहमा विद्यार्थीको व्यवस्थापन गर्न सके त अझ राम्रो हुन्छ भन्ने अनुभूति भएको छ । तर अहिले हामी डेस्कबेन्चमै अभ्यस्त भइसकेका छौँ ।”
सहयोगी शिक्षण सामग्री कस्ता कस्ता चाहिन्छ ?
कक्षा शिक्षण गर्दा एउटा शिक्षक एउटै कक्षामा दिनभर हुन्छ । उसका लागि शिक्षण सामग्री अति महत्त्वपूर्ण छ । कक्षा कोठा प्रविधिमैत्री पनि भइदिए दिनभर कराउन र चिच्याउन पर्दैनथ्योकी भन्ने शिक्षक ढकालको अनुभव छ । उहाँको कक्षामा ३० जना विद्यार्थी छन् । उहाँ भन्नुहुन्छ “कक्षामा स्मार्ट बोर्ड वा अन्य कुनै डिजिटल सामग्री देखाउने उपकरण भए सहज हुन्थ्यो की ? यसको व्यवस्थापनि विस्तारै होला । भित्तामा पोष्टरहरु त सीप र समयले भ्याएसम्मको गरेका छौँ । कक्षा कोठा प्रविधियुक्त भइदिए कराउन चिच्याउन पर्दैनथ्योकी भन्ने चाँही लाग्छ ।”
शिक्षक लामिछानेले कक्षा कोठा फराकिलो नभए सिकाइ सहजीकरण कठिन हुने अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो “कक्षा कोठा फराकिलो चाहिन्छ । साँघुरो कक्षामा क्रियाकलाप गराउन कठिन हुन्छ । कक्षामा डिजिटल बोर्ड भए पाठ्यक्रमसँग मिल्दाजुल्दा गीतसंगीत सुनाउन सहज हुन्छ । धेरै कराउँदा आफ्नो भोकल कर्ड (घाँटी) मा नै समस्या आएको छ ।” नमस्ते गर्ने, हात मिलाउने, गोलो घेरामा घुम्ने, साथीले साथीलाई समाउने, एकआपसमा मिलेर काम गर्ने, मिलेर खेल्ने, मिलेर पढ्ने, समूहमा पढ्ने, पंक्तिमा हिंड्ने जस्ता क्रियाकलापका लागि फराकिलो कक्षा कोठा आवश्यक हुन्छ । गर्मीमौसममा खेलमैदान पनि उपयुक्त नहुने शिक्षकहरुको अनुभव छ ।
कक्षा शिक्षणका फाइदा के के हुन्छन् ?
कक्षा शिक्षण गरिरहेका शिक्षकद्वयले कक्षा शिक्षणका धेरै फाइदा रहेको बताएका छन् । कक्षा २ मा शिक्षण गर्ने ढकाल भन्नुहुन्छ “प्रत्येक विद्यार्थीलाई राम्रोसँग चिनिने रहेछ । सबै विद्यार्थीको अभिभावकको अवस्था र उहाँहरूका परिचित हुन सहज । उहाँहरुलाई अभिमुखीकरण गर्न पनि सजिलो हुने रहेछ । सबै विद्यार्थीले सहजै समस्या बताउन सक्ने, उनिहरुको कुन कुन विषयमा सिकाइ उपलब्धी कम छ थाहा हुने, सोही अनुसारको योजना र कार्यसम्पादन गर्न सकिने हुँदा राम्रो फाइदा हुने रहेछ । अहिले कुनै पनि विद्यार्थी निरक्षर भएर अघिल्लो कक्षामा चढ्नुपर्ने अवस्था छैन । कक्षा १ देखि ३ सम्म विद्यार्थीका लागि कक्षा शिक्षण नै उत्तम रहेछ, तर शिक्षकका लागि भने चुनौतीपूर्ण छ ।”
बच्चाको अभिलेख एकै शिक्षकले राख्ने र मूल्याकंन गर्ने भएकोले सही र सुरक्षित हुने शिक्षक लामिछानेको बुझाइ छ । उहाँ भन्नुहुन्छ “आधारभूत कुरा नसिकेसम्म अघि बढ्न पाईँदैन । विषय शिक्षणमा यस्तो हुँदैन । नेपाली पढ्न नजानेपनि हाम्रो सेरोफेरोको विषयवस्तु अरु शिक्षकले अघि बढाइदिन सक्छ । नेपालीभाषा नजानिकन अरु विषय झन् कठिन हुन्छ । तसर्थ कक्षा शिक्षण उपयुक्त हो ।” सिकाइ उपलब्धी बढाउन, अर्थपूर्ण सिकाई गराउन कक्षा शिक्षण राम्रो हुन्छ । विद्यार्थीको बानी व्यवहारको विकासको पक्ष पनि राम्रो हुन्छ । शिक्षक लामिछाने भन्नुहुन्छ “अनुशासन र संस्कारका कुरा सिकाउन पनि प्रभावकारी हुन्छ । रुँदै आउने बच्चा हाँसी हाँसी आउने भएका छन् ।”
शिक्षक दिर्पा पौडेल ढकाल र लक्ष्मी सुवेदी लामिछानेले गर्नुभएको कक्षा शिक्षणका कारण विद्यार्थीहरूमा धेरै राम्रो सुधार आएको जनक नुमना मावि (आदर्श ब्लक) संयोजक शिव शर्माले बताउनुभयो । अहिले सबै बालबालिकाहरु आधारभूत सिकाई पूरा गरेर कक्षोन्नती भएका छन् । कक्षा शिक्षणलाई निरन्तर रुपमा अघि बढाउँदा विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव हुने संयोजक शर्माले बताउनुभयो ।
कक्षा शिक्षण प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि प्रविधिमैत्री कक्षाकोठा निर्माण गर्न आवश्यक छ । यद्यपि कक्षा शिक्षण प्रभावकारी रूपमा भइरहेको छ र शिक्षकहरू आफ्नो भूमिकामा सक्रिय छन्, प्रविधि मैत्री कोठाको अभावले सिकाइलाई अझ प्रभावशाली बनाउन अवरोध पु¥याएको छ । पूर्वाधार निर्माण ढिलो चाँडो सम्पन्न होला, तर हालको अवस्थामा पनि बालबालिकाको सिकाइलाई निरन्तरता दिँदै जानु नै दीगो शिक्षाको सन्देश हो । यसले समुदायमा सकारात्मक प्रभाव पार्नेछ र शिक्षाप्रतिको विश्वास अझ बलियो बनाउनेछ ।