बाढीका कारण अवरुद्ध बिपी राजमार्ग १४ घण्टापछि पूर्ण सञ्चालनमा

काठमाडौं । अविरल वर्षाका कारण सोमबार रातिदेखि अवरुद्ध बिपी राजमार्ग १४ घण्टापछि पूर्ण रुपमा सञ्चालनमा आएको छ ।
बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको डाइभर्सन बाढीले बगाउँदा १४ घण्टादेखि अवरुद्ध भएको राजमार्ग आज दिउँसोदेखि पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी विन्दु अधिकारीले बाढीले रोशी गाउँपालिका-१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि खुलाउन नसकिएको राजमार्ग अहिले खुलाइएको बताउनुभयो । सडक खुलाएसँगै यात्रुहरुले सहज रुपमा यात्रा गर्न सक्ने उहाँको भनाइ छ ।