गैँडाकोट ८ मा घरदैलोमा नै स्वास्थ्य परीक्षण 

२०८० जेठ ८ सोमबार १६:४५:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट ८ मा वडाका ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य परीक्षण कार्यक्रम घरदैलोमा नै सम्पन्न भएको छ ।

वडाका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण वडाका ७ स्थानमा गरिएको गैँडाकोट ८ का वडा अध्यक्ष प्रेम सापकोटाले जानकारी दिए । वडा कार्यालयको आर्थिक सहयोग एवं आधारभूत स्वास्थ्य केन्द्र, गैँडाकोट आयुर्वेद औषधालयको सहयोग तथा ज्येष्ठ नागरिक वडा संघको व्यवस्थापनमा गैँडाकोट ८ को ७ वटा टोलमा शिविर सञ्चालन गरिएको हो । मंगलबार सापकोटा कूलदेव मन्दिरबाट सुरु गरिएको स्वास्थ्य परीक्षण शिविर सोमबार मुक्तिनाथ मन्दिरमा समापन गरिएको थियो ।  

शिविरमा बोल्दै गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले नियमित स्वास्थ्य चेकजाँच गर्न ज्येष्ठ नागरिकलाई आग्रह गरे । 

वडाका विजय नन्दन, नन्दन कालिका, आदिकवि भानुभक्त, कालिका टोल, बेलटारी, करङघारी, विजयनगर, जयमहादेव, उज्जवल, सिद्धि विनायक र त्रिदेव टोलका गरी ३ सय बढीको स्वास्थ्य जाँच गरिएको ज्येष्ठ नागरिक वडा समितिका अध्यक्ष ज्यो.हरिप्रसाद सापकोटाले जानकारी दिए । 

कार्यक्रममा जनप्रतिनिधिहरु कमला आचार्य, खगेश्वर सापकोटा, तर्कबहादुर थापा, शुसिला परियार, टोल सञ्जालका अध्यक्ष शशिधर न्यौपाने, गैँडाकोट नगर स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट माधव आचार्य, आधारभूत स्वास्थ्य केन्द्र गैँडाकोट ८ का अहेब खुमकुमारी श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।