अस्पतालहरूमा बेड उपलब्धताको स्थिति वेबसाइटमा राख्न स्वास्थ्य मन्त्री बस्नेतको निर्देशन

२०८० जेठ १८ बिहीबार ०६:२८:०० मा प्रकाशित

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले अस्पतालहरूमा शैय्या उपलब्धताको स्थिति वेबसाइटमा राखेर सार्वजनिक गर्न निर्देशन दिएका छन् ।  

बुधबार राजधानीका एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतलेअस्पतालहरूमा आइसियु, इमर्जेन्सी वा सिसियु बेडहरु के–कति छन् र कति खालि छन् भन्ने कुराको जानकारी वेबसाइटमार्फत सार्वजनिक गर्न निर्देशन दिएको बताएका हुन्।  त्यस्तै ओपिडि टिकट अनलाइनमार्फत पनि लिन सकिने उनले बताए ।  

उनले संसारभरमा सुर्तीजन्य पदार्थमा सबभन्दा कम कर लिने मुलुक नेपाल भएको भन्दै सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने बताए । उनले सुर्तीजन्य पदार्थमा कम्तीमा २० प्रतिशत कर थपिए सो करबाट उठ्ने राजश्व गरिब बिरामीहरूको उपचारमा प्रयोग गर्नुपर्ने बताए ।