
प्रकाश पोखरेल
जनस्वास्थ्य निरीक्षक
स्वास्थ्य शाखा, गैँडाकोट नगरपालिका
क्षयरोग माइक्रोब्याक्टेरिया ट्युबरकुलाई नामक ब्याक्टेरियाको सङ्क्रमणबाट लाग्ने एक प्रकारको सरुवा रोग हो । यो रोग सङ्क्रमित व्यक्तिबाट अर्को स्वस्थ मानिसमा श्वासप्रश्वासको माध्यमबाट सर्ने गर्दछ । नेपालमा १ लाख १७ हजार मानिसलाई क्षयरोगको सङ्क्रमण भएको अनुमान राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको रहेको छ । तर सबै मानिसमा क्षयरोगको किटाणु भएता पनि लक्षण देखिदैन । मधुमेह, एचआइभी÷एड्स संक्रमित कुपोषित बालबालिकाहरुमा रोगसँग लड्न सक्ने क्षमता कम भएको हुँदा क्षयरोगका लक्षण पनि देखिन सक्ने हुन्छ । क्षयरोग शरीरको कपालको रौँ, नङ र दात बाहेक सबै अंगमा लाग्ने रोग हो । क्षयरोगलाई फोक्सोमा लाग्ने क्षयरोग र फोक्सो बाहिर अन्य अङ्गमा लाग्ने क्षयरोग गरी २ भागमा विभाजन गरिन्छ । यसबाट सङ्क्रमित हुनेको दर बढ्दो क्रममा रहेको छ । गैँडाकोटमा वर्षेनी सरदर ८० जनाको हाराहारीमा सङ्क्रमित फेला पर्ने गरेको पाइएको छ । पछिल्लो पाँच वर्षमा ७ जनाले ज्यान समेत गुमाएका छन् । यसैसन्दर्भमा हामिले गैँडाकोट नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रकाश पोखरेलसँग गैँडाकोटमा क्षयरोगको अवस्थाबारे कुराकानी गरेका छौँ । प्रस्तुत छ, सवांददाता माया कँडेलले गर्नुभएको कुराकानीको सम्पादित अंश ः
गैँडाकोटमा क्षयरोगको अवस्था कस्तो छ ?
गैँडाकोट नगरपालिकामा क्षयरोगीको सङ्ख्या पहिले भन्दा बढ्दै गएको छ । हामीले समुदायस्तरमा परीक्षण थालेका छौँ । आर्थिक वर्ष ०७५/०७६ मा ८८ जनामा क्षयरोग भेटिएको थियो । २०७६/०७७ मा ८६ जना सङ्क्रमित थिए । भने सङ्क्रमित मध्ये १ जनाको ज्यान गएको छ ।
यस्तै २०७७/०७८ मा ६६ जनालाई सङ्क्रमण भएकोमा क्षयरोग कै कारण ३ जनाको मृत्यु भएको छ । २०७८/०७९ मा १०८ जना क्षयरोग सङ्क्रमित मध्ये १ जनाको मृत्यु भएको छ र आर्थिक वर्ष २०७९/०८० को वैशाख अन्तसम्म १०४ जनामा क्षयरोग पुष्टि भएको छ । भने सङ्क्रमित मध्ये २ जनाको निधन भएको छ । आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म गैँडाकोटमा क्षयरोगबाट ७ जनाको मृत्यु भएको छ । यो सङ्ख्या धेरै हो । सहजै सर्ने भएकाले पनि यो धेरैमा हुनसक्छ । कतिपय अवस्थामा क्षयरोग भन्ने पनि थाहा हुँदैन । परीक्षण नै गर्नुपर्छ ।
क्षयरोगको लक्षणहरु के के हुन ?
रुघाखोकी लाग्नु, ज्वरो आउनु क्षयरोगको प्रारम्भिक लक्षण हो । सामान्यतया यस्ता समस्या पाँच दिनभित्रमा ठिक पनि हुन्छन् । तर, लगातार रुघाखोकी लागिरह्यो, ज्वरो कम भएन, दुई हप्तासम्म पनि खोकी रहिरह्यो भने तुरुन्तै चिकित्सककहाँ जानुपर्छ । अझै अहिले त खोकी लाग्ने बित्तिकै पनि यसको परीक्षण गर्नुपर्छ भन्ने छ । यो क्षयरोगको संकेत पनि हुनसक्छ । क्षयरोग लागेमा बिरामीलाई राती धेरै पसिना आउँछ । मुख सुक्ने गर्छ । खान मन लाग्दैन र तौल अचानक कम हुन थाल्छ । क्षयरोगको सङ्क्रमण भएमा मानिसको खकारमा रगत देखिन्छ । सास लिनसमेत समस्या हुने गर्छ । क्षयरोगको सङ्क्रमण जोसुकैलाई हुनसक्छ । रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई यसले चाँडै असर गर्ने हुँदा घरपरिवारमा कसैलाई क्षयरोग लागेको छ भने परिवारका अन्य सदस्यले पनि कम्तीमा एक पटक खकारको जाँच गर्नुपर्छ । यति मात्र होइन जसलाइ मधुमेह छ, जसलाई एचआइभि छ, कुपोषित बच्चालाई पनि क्षयरोगको परीक्षण गराउनुपर्छ ।
क्षयरोग लागेको कति समयपछि लक्षण देखिन्छ ?
एक व्यक्तिबाट अर्कोे व्यक्तिमा सरेपछि तुरुन्तै लक्षण देखिँदैन । कम्तीमा तीन हप्ता समय लाग्छ । तर, शरीरमा टीबीको किटाणु बोकेको भए पनि प्रतिरोधात्मक क्षमता राम्रो छ भने लामो समयपछि लक्षण देखिन सक्छ । यस्तो अवस्थामा तीन महिना, छ महिना, एक वर्षपछि लक्षण देखिन सक्छ । जुन बेला डिप्रेसन, प्रतिरोधात्मक क्षमता कम र शरीरमा पोषण तत्त्वको कमी भएपछि लक्षण देखिने हो ।
क्षयरोग परीक्षण र उपचारपछि पूर्ण रुपमा निको हुन्छ त ?
क्षयरोग नियमित रूपमा औषधिको सेवनबाट पूर्ण रूपमा निको हुन्छ । नेपाल सरकारले क्षयरोग विरुद्धमा अति प्रभावकारी औषधिहरु निःशुल्क वितरण गराउँदै आएको छ । ल्याबको रिपोर्ट वा खन्य विभिन्न माध्यमबाट रोग पत्ता लागेपछि राष्ट्रिय क्षयरोग उपचार कार्यक्रम छ सोहि अनुसार निःशुल्क परीक्षण गरिन्छ । निःशुल्क औषधी पाइन्छ । गैँडाकोटमा १५ स्वास्थ्य संस्थाबाट क्षयरोगको उपचार भइरहेको छ । पूर्णरुपमा निको हुने रोग हो । औषधी समयमै खानुपर्छ बिराउनुहुँदैन ।
औषधी कति समय खानुपर्छ ?
क्षयरोग नियमित रूपमा औषधिको सेवनबाट पूर्ण रूपमा निको हुन्छ । उपचार अवधी भने सङ्क्रमित अंग, रोगको प्रकृति हेरी फरक हुन्छ । यसका लागि कम्तीमा ६ महिनादेखि १२ महिना सम्म औषधी सेवन गर्नुपर्छ । सामान्य खालको क्षयरोग भए ६ महिना औषधी खानुपर्छ पुरानो र जटिल खालको क्षयरोग भएमा, मेरुदण्डमा देखिने क्षयरोग भएमा १२ महिना औषधी खानुपर्छ । आत्तिनु नै पर्दैन । जति औषधीको मात्रा छ त्यो पूरा गर्नुपर्छ । यस अवधिमा सबै बिरामीहरुलाई डट्स अन्तर्गत राखेर उपचार गरिन्छ । जसमा बिरामीलाई प्रत्येक दिन उपचार सहयोगीको प्रत्यक्ष निगरानीमा औषधि खुवाउने गरिन्छ । औषधीहरुको सेवनबाट पिसाब रातो हुन सक्छ तर यो सामान्य हो, डराउनु पर्दैन ।
परिवारमा क्षयरोगी भएमा कस्तो सर्तकता अपनाउने ?
यदि परिवारका सदस्यलाई क्षयरोग छ भने ५ वर्ष मुनिका बालबालिकाको लागि टि.बि.–पि.टि. कार्यक्रम चलाएका छौँ जुन पि.बि.सि. केसमा मात्र गर्छौँ । अन्य व्यक्तिले पनि सम्पर्क परीक्षण गर्नुपर्छ । सजिलै सर्न सक्न खोकी हाछ्यु बाट पनि सर्ने हुनाले परिक्षण गराउन आवश्यक छ ।
कम गर्नका लागि स्वास्थ्य शाखाले कसरी समन्वय र काम गरेको छ ?
गैँडाकोट स्वास्थ्य चौकी गैँडाकोट नगर अस्पताल र अमरापुरी स्वास्थ्य चौकीबाट पनि क्षयरोग परीक्षण भइरहेको छ । यो मात्र नभई नगर स्वास्थ्य शाखाले समुदाय स्तरमा गएर पनि क्षयरोग परीक्षण गर्दै आएको छौँ । नया केश पत्ता लगाउन विभिन्न वडामा क्षयरोग परीक्षण गरिरहेका छौँ । गैँडाकोटका पहाडी क्षेत्र होस् वा शहरी क्षेत्र दुबैमा चेकजाँच गरिरहेका छौँ ।
क्षयरोगबाट बच्न खानपानमा कस्तो ध्यान दिने ?
क्षयरोगबाट जोगिन धुम्रपान र मध्यपानबाट टाढा रहनुपर्छ । धुम्रपान र मध्यपानले टीबीलाई झन् असर गर्छ । झोल पदार्थमा जोड दिनुपर्छ । मासुको सुप, सागसब्जी र फलफूल नियमित खानुपर्छ । दिनमा तीनपटक पोसिलो खाने कुरा अनिवार्य खाएमा क्षयरोगबाट जोगिन सकिन्छ ।