सहकारी समन्वय मञ्च गैँडाकोटको तदर्थ समिति गठन 

२०८० भदौ १६ शनिबार १६:५१:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटको सहकारी ऐनमा सहकारी समन्वय मञ्च गठन गर्न सक्ने प्रावधानसँगै ऐन अनुरुप मञ्च दर्ताका लागि तदर्थ समिति गठन गरिएको छ । 

तदर्थ समितिको अध्यक्षमा प्रेमप्रसाद सापकोटा ‘राजु’, उपाध्यक्षमा धनेश्वर तिवारी, सचिवमा बाबुराम खनाल, कोषाध्यक्षमा कान्तिमाया पुरी, सहसचिवमा हरिदेवी सापकोटा, सदस्यहरुमा तिलकप्रसाद कंडेल, दुर्गाप्रसाद सापकोटा, रामभक्त लम्साल, मिलनराज घिमिरे, सरस्वती कँडेल र खगराज सापकोटा रहनुभएको छ ।

मञ्च नगरपालिकामा दर्ता गरी ऐन अनुरुप बैधानिकता प्रदान गरिने तदर्थ समितिका अध्यक्ष प्रेमप्रसाद सापकोटा ‘राजु’ले जानकारी दिनुभयो । २०६१ सालदेखी सक्रिय मञ्चलाई निरन्तरता दिइने एवं दर्ता भने नयाँ ऐन अनुरुप हुने उहाँले बताउनुभयो । मञ्चले सहकारीको प्रवर्धन, क्षमता अभिवृद्धि, स्थानीय सरकारसँग सहकार्य र समन्वय, उत्पादन बजारीकरण व्यवस्थापन लगायतका कार्य गर्ने उद्देश्य लिएको छ । 

गैँडाकोट नगरपालिकाको सहकारी ऐनमा गैँडाकोटमा सहकारी विषयगत आधारमा वर्गिकरण गर्दा सहकारी समन्वय मञ्च गठन गर्न सकिने व्यवस्था गरेको छ । नगरपालिकालाई सहकारी ग्रामको रुपमा स्थापना गर्न, सहकारीबीच सहकार्य र समन्वय गर्न मञ्च गठन गर्न सक्ने नगरपालिकाको ऐनमा व्यवस्था गरिएपछि सो प्रयोजनका लागि मञ्चले विनियमका विषयमा छलफल समेत गरेको छ । शनिबार विजय विकास स्रोत केन्द्रका सभाहलमा गैँडाकोटका सहकारीकर्मीहरुसँगको विनियमका विषयमा छलफलपछि तदर्थ समिति गठन गरिएको हो । गैँडाकोटमा हाल ३८ वटा सहकारी रहेका छन् । जसमध्ये २७ वटा स्थानीय, ७ वटा प्रदेश र ४ वटा संघीय तहका सहकारी छन् । 

सहकारी समन्वय मञ्च गैँडाकोट २०६० साल कार्तिक ७ गतेबाट अनौपचारिक रुपमा सुरुवात गरी सहकारी अभियान्ता खेमराज सापकोटाको अध्यक्षतामा गठन गरिएको थियो । तत्पश्चात यहाँका सहकारीबीच सहकार्य र समन्वय गर्दै आएको छ ।