
गैँडाकोट । गौवंश रक्षार्थ शनिबार नारायणी नदी किनारमा हिन्दुधर्मावलम्बीहरूको जनसागर उर्लिएको थियो । नेपाल सन्त समाजको आयोजनामा भएको धार्मिक सभामा चितवन तथा नवलपुरका विभिन्न स्थानबाट हिन्दु धर्मावलम्बीहरूको उपस्थिति रहेको थियो । भदौ २३ गते नारायणी नदी किनारमा धार्मिक सभा हुने भएको छ । गाई हाम्री माता हुन्, हाम्रो धर्म हाम्रो देश प्राण भन्दा प्यारो छ, संविधानको पालना गर, ओम्कार परिवार एक हाँै, गो वंशका हत्यारालाई कारवाही गर, वैदिक सनातन हिन्दु धर्म कायम गर लगायतका प्ले कार्ड प्रदर्शन गरेका थिए ।
चितवनको लंकु, रत्नगर, देवघाटधाम र नवलपुरको कावासोती, देवचुली, गँैडाकोटबाट धर्मावलम्बीहरू भजनकिर्तन सहित नारायणगढको शहिदचोक पुल्चोक हुँदै नारायणी किनार पुगेका थिए । भगवान गौतमबुद्धको प्रतिसंगै बनाइएको धार्मिक सभाको स्टेजमा बोल्दै नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले गाई रक्षार्थका साथै हिन्दु धर्मरक्षार्थ जागरुक हुनुपर्ने बेला आएको बताउनुभएको छ ।
धार्मिक संगठन र युवाको प्रतिनिधित्व गर्दै विश्वहिन्दु महासंघका प्रतिनिधि श्याम पौडेलले हिन्दु राष्ट्र निर्माणका लागि युवाहरू एकस्थानमा उभिन आग्रह गर्नुभयो ।
बौद्ध धर्मका विशिष्ट अनुयायी लेखक एवं विचारक मोहन लामा रुम्बाले गाई माता तुल्य रहेको बताउनुभयो ।
श्रीवैष्णव सम्प्रदायको प्रतिनिधित्व गर्दै स्वामी जगन्नाथाचार्यले नेपाली संस्कार र संस्कृतिको अन्त्यको लागि प्रोपोगाण्डा फैलाउन चाहेका छन्, तसर्थ हिन्दुहरू समयमानै सचेत रहन आग्रह गर्नुभयो ।
जनजाति कल्याण आश्रम नेपालका राष्ट्रिय महासचिव प्रेम थुलुङले असल संस्कार र संस्कृति हिन्दु धर्मको जग रहेको हुँदा युवाहरूमा चेतना फैलाउन आवश्यक भएको बताउनुभयो ।
महेश सन्यास आश्रमका पिठाधीश स्वामी रमणानन्द गिरि र गलेश्वर आश्रम देवघाटधामका पीठाधीश आत्मानन्द गिरिले गौ माता हिन्दु धर्मावलम्बीका लागि आमाको स्वरुप रहेको हुँदा आमाको रक्षार्थ सबै एकजुट हुन आवश्यक रहेको बताउनुभएको छ ।
धरानमा गाई काटेर खाएको घटनाको विरोध गर्दै गोवंश रक्षार्थ नारायणी किनारमा धार्मिक सभा गरिएको थियो ।
चितवन, नवलपुर, नवलपरासी र तनहुँका ओमकार परिवार (वैदिक, बौद्ध, जैन, शिख, किराँत र प्रकृतिपूजक)ले गोवंश रक्षार्थ धार्मिक सभा गरिएकोे गोवंश रक्षार्थ विशाल धार्मिक सभा मूल आयोजक समितिका संयोजक टंकनाथ पौडेलले बताउनुभएको छ ।
नेपालको मुलुकी अपराध संहिता २०७४ ऐनको परिच्छेद २७ पशुपंक्षीसम्बन्धि कसुरको दफा २८९ मा गाईगोरु काट्न र मार्न वा कुट्न नहुने उल्लेख छ ।