नेपालका प्रथम जगद्गुरुको जन्मजयन्ती गैँडाकोटमा मनाइयो   

२०८० भदौ २३ शनिबार १७:४७:०० मा प्रकाशित


गैँडाकोट । नेपालका प्रथम जगद्गुरु योगिराज कमलनयनाचार्यको शनिबार गैँडाकोटमा जन्मजयन्ती मनाइएको छ । गैँडाकोट १ मा रहेको श्रीमद्रामानुज वेदविद्याश्रममा जन्मउत्सव मनाइएको लक्ष्मीनारायण मन्दिर जगद्गुरु योगिराज कमलनयनाचार्य पीठ गैँडाकोटका कार्यबाहक अध्यक्ष जगन्नाथ उपाध्यायले बताउनुभयो । शनिबार विहान भएको जन्मोत्सव कार्यक्रममा स्वामी जगन्नाथाचार्य, स्वामी पद्मनाभाचार्य, स्वामी लक्ष्मणाचार्य लगायतले स्वामीजीको जीवनी माथि प्रकाश पार्नुभएको थियो । 


जगद्गुरु सम्मानद्वारा विभूषित योगिराज कमलनयनाचार्यको चिनारी गैँडाकोटको रामानुज वेद विद्याश्रममा रहेको हुँदा जन्मउत्सव मनाउन सुरु गरिएको उपाध्यायले बताउनुभयो । स्वामी कमलनयनाचार्य जगद्गुरु पदले विभुषित हुनुभएको सिंहासन र उहाँले प्रयोग गर्ने डण्डा गैँडाकोट १ मा रहेको रामानुज वेदविद्याश्रममा रहेको छ । सिंहासनलाई उचित व्यवस्थापनका लागि चाँदीको लेप लगाइने भएको छ ।  


वि.सं. २०४० फागुन २१ गतेदेखि २७ गतेसम्म नवलपुरकोे गैंडाकोटमा आयोजना गरिएको २४ कुण्डात्मक विश्वशान्ति गायत्री महायज्ञ तथा विद्वद्सम्मेलनको अवसरमा महायज्ञको पाँचौं दिन फागुन २६ गते उहाँलाई जगद्गुरु पदले विभूषित गरिएको थियो । उक्त कार्यमा दक्षिणभारतदेखि उत्तरभारतसम्मका विशिष्ट आचार्य, महन्त, सन्तहरू तथा विभिन्न विश्वविद्यालयका प्राध्यापकहरूको सहभागिता रहेको थियो । 


यसैगरी नेपालका विभिन्न धर्म सम्प्रदाय सम्बद्ध धर्माचार्य तथा संघ–संस्थाका प्रतिनिधिहरू, संस्कृतज्ञ विद्वान्, साधुसमाज र सर्वसाधारणहरूको समेत व्यापक उपस्थिति रहेको थियो । आजीवन धर्म प्रचार र संस्कृत शिक्षाको विकासमा लागिपर्ने उहाँको योगदानको उच्च मूल्यांकन गर्दै विद्वद्समाजले उहाँलाई जगद्गुरु पदमा अभिषेक गरेको थियो । 


उहाँ परम वैष्णवसन्त हुनुहुन्थ्यो भने उहाँले जीवनभर अन्न परित्याग गर्नुभएको थियो । उहाँले जीवनभर दुग्धहार भएर हिन्दु सनातन धर्मको संरक्षणमा लाग्नुभएको थियो । नेपालमा रामानुजाचार्यद्वारा प्रतिपादित श्रीवैष्णव सम्प्रदाय को उत्थानमा उहाँकोे निकै ठुलो भूमिका रहेको छ । उहाँकै नेतृत्वमा नेपाल भारत तथा भूटान जस्ता हिन्दू बाहुल्य देशहरूमा वैदिक संस्कृत पाठशालाहरूको निर्माण गरियो थियो । 


पूर्वी नेपालको मेची अञ्चल अन्तर्गत इलामको नामसालिङ भन्ने ठाउँमा वि.सं. १९२५ सालको भदौ  महिना, दशमी तिथिमा उहाँको जन्म भएको थियो । बुबा मुक्तिनाथ रिमाल र माता यशोदा रिमालको साहिँलो पुत्र रूपमा उहाँको जन्म भएको थियो ।


श्रीशकंराचार्यबाट प्राप्त सुझावअनुसार दक्षिण भारतको काञ्ची पुगेर उहाँले श्रीवैष्णव सम्प्रदायको प्रतिवादी भयंकर गद्दीमा रहनुभएका श्रीअनन्ताचार्य सन्तबाट श्रीवैष्णव दीक्षा ग्रहण गरी उहाँले शिक्षा प्राप्त गर्नुभएको थियो । उहाँले गुरुको निर्देशन अनुसार बद्रीनाथ क्षेत्रको ज्योतिर्मठ (हाल जोशीमठ)मा आई श्रीरघुनाथाचार्यबाट अष्टाङ्गयोगको साधना र अभ्यास गर्नुभएको थियो । 


गुरुको निर्देशन अनुसार उहाँले पश्चिम नेपालको कैलाली जिल्लामा धर्मप्रचारको अभियान प्रारम्भ गरेर कैलाली, बर्दिया, दाङ, सल्यान, पाल्पा, गुल्मी आदि जिल्लामा समेत उक्त कार्यले निरन्तरता दिनुभएको थियो । यसरी सुदूर पश्चिमबाट प्रारम्भ भएको उहाँको यात्रा क्रमशः पूर्वतर्फ आउँदै सीमा पारका सिक्किम, आसाम, बंगाल र भूटानसम्म पनि फैलिन पुग्यो । तात्कालीन समयमा अधिकांश स्थानमा पैदल यात्रा गरेर नै उहाँले धर्म प्रचार गर्नुभएको थियो । उहाँले २८ वर्षको उमेरदेखि गाईको दूधमात्र पिउन थाल्नुभयो भने सोही समयबाट अन्नको परित्याग गर्नुभएको थियो ।  वेद र गाईको संरक्षण नै उहाँको मुख्य उद्देश्य थियो । 


वि.सं. २०४२ वैशाख १७ गतेका दिन ११७ वर्षको उमेरमा उहाँको देहावसान भएको थियो । वि.सं. २०४१ चैत्र २१ गते माईधारबाट भूटानको यात्रामा निस्कनुभएका उहाँले भूटानको सूरे भन्ने स्थानमा देह त्याग गर्नुभएको थियो । सूरेमा तीन दिने अखण्ड श्रीमन्नारायण संकिर्तन कार्यक्रमको आयोजना गराई उहाँले समाधिमा बस्नुभएको थियो ।  योग बलका प्रभावले समाधिद्वारा नै आफ्नो प्राण त्याग गरी उहाँको बैकुण्ठबास भएको थियो ।