स्वास्थ्य मन्त्री बस्नेतद्वारा एचपीभी खोपको डेमोस्ट्रेसन शुभारम्भ

२०८० भदौ २७ बुधबार १३:२४:०० मा प्रकाशित

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी.(ह्युमन प्यापिलोमा भाइरस) खोपको डेमोस्ट्रेसन शुभारम्भ गरेका छन् । बुधबार राजधानीको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित समारोहमा मन्त्री बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीलाई भ्याक्सिन क्यारियर हस्तान्तरण गरेर उक्त खोपको डेमोस्ट्रेसन शुभारम्भ गरेका हुन् ।

यो अवसरमा धुम्बाराहीकी १४ वर्षीय किशोरी आइरिस मानन्धरलाई पहिलो एच.पि.भी. खोप लगाइएको थियो । शुभारम्भको अवसरमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयले औपचारिक रूपमा पहिलो पटक पाठेघरको क्यान्सर विरुद्ध प्रभावकारी मानिएको एचपीभी खोप शुभारम्भको लागि देशका ७ वटा अस्पताल छानेको र बागमती प्रदेशमा प्रसूति तथा महिला रोगको उपचारको आशाको केन्द्र मानिएको प्रसूति गृहलाई छानेर खोपको शुभारम्भ गरिएको बताए ।

७७ वटै जिल्लाका ९ वर्षदेखि १५ बर्समुनिका किशोरीहरूलाई यो खोप दिने सरकारको लक्ष्य भएको बताउँदै हाललाई २० हजार भाइल खोप आईपुगकाले त्यसबाटै अभियान सुरुवात गरिएको मन्त्री बस्नेतले जानकारी दिए ।

मन्त्री बस्नेतले भने, ‘सबै किशोरीका लागि पुग्ने गरी खोप ल्याउन ग्लोबल भ्याक्सिन अलाइन्स (गाभी) सँग कुरा भइरहेको छ । एक वर्ष भित्र सबैका लागि एच.पि.भी. खोप आइसक्ने छ ।’

पाठेघरको मुखको क्यान्सरका कारण अकालमा ज्यान जोगाइरहेका महिलाको जीवन बचाउन सरकार संवेदनशील रहेको मन्त्री बस्नेतले बताए ।

कार्यक्रममा परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेककुमार लालले नेपालमा क्यान्सरका कारण मृत्यु हुनेहरूमध्ये सबैभन्दा बढी पाठेघरको मुखको क्यान्सरले हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै ९ वर्षदेखि १५ वर्ष उमेर समूहका किशोरीलाई यो खोप लगाउन सकिए अकाल मृत्युबाट बचाउन सकिने बताए ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोसन पोखरेलले ९ देखि १५ वर्ष उमेर समूहका सबै किशोरीहरूलाई खोप आवश्यक भए पनि अहिले थोरैलाइ मात्र दिन सकिएको स्विकार्दै एक वर्ष भित्रै खोप उपलब्ध गराएर नियमित अभियान सञ्चालन गरिने बताए ।

अर्का सचिव देवकुमारी गुरागाईले यो खोपको शुभारम्भ हुनु खुसीको कुरा भएको बताउँदै मन्त्रालय सबैलाई पुग्ने गरी खोप ल्याउन लागिपरेको बताइन ।

स्वास्थ्य सेवा विभागकी महानिर्देशक डा. सङ्गीता मिश्रले अहिले १७ लाख किशोरीलाई यो खोपको आवश्यकता भएको र सबैका लागि पुग्ने गरी खोप उपलब्ध गराइदिन गाभीसँग प्रस्ताव गरेको र यसका गाभी सकारात्मक रहेकोले एक वर्षभित्र सबैका लागि खोप आईपुग्ने जानकारी दिइन ।

सरकारलाई प्राप्त भएको २० हजार भाइल खोपलाई समानुपातिक रूपमा देशका सातवटै प्रदेशका ठुला अस्पतालबाट डेमोस्ट्रेसनका रूपमा शुभारम्भ गरिएको उनले बताइन ।

दुई महिना अघि ल्याइएको २० हजार भाइल खोपको प्रसूति गृहसँगै देशका पाँच अस्पतालहरू डडेलधुरा अस्पताल, भेरी अस्पताल नेपालगन्ज, प्रादेशिक अस्पताल सुर्खेत र गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा आजैदेखि सुरु हुने र कोशी अस्पताल एवं नारायणी अस्पतालबाट यही भदौ २८ र २९ हुने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ ।

यो खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ ) ले मान्यता प्रदान गरेको खोप हो । छ महिनाको अन्तरमा दुई डोज लगाउनु पर्छ । अहिले पहिलो डोज लगाएका किशोरीले ठिक ६ महिनापछि खोप लगाएकै अस्पतालमा अर्को डोज लगाउन जानु पर्ने छ ।