गैँडाकोटमा बृहत् खुला रक्तदान, ९१ जनाले गरे रक्तदान

२०८३ भदौ २७ शनिबार १९:१५:०० मा प्रकाशित

गैँडाकोट। गैँडाकोटमा आयोजित बृहत् खुला रक्तदान कार्यक्रममा ९१ जनाले रक्तदान गरेका छन्। गैँडाकोट नगरपालिका–१ स्थित प्रसिद्ध धार्मिक स्थल मौलाकालिका मन्दिर परिसरमा आज आयोजित रक्तदान कार्यक्रममा १२४औँ पटक रक्तदान गर्नुभएका खुमनाथ पौडेललाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको हो। रक्तदान कार्यक्रममा ८६ जना पुरुष, ५ जना महिला गरि ९१ जनाले रक्तदान गरेका छन् । पहिलो पटक २३ जना नयाँ रक्तदाताले रक्तदान गरेका हुन ।  
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले रक्तदान मानव जीवन बचाउने महत्वपूर्ण र पुण्य कार्य भएको बताउनुभयो। उहाँले रक्तको अभावमा कसैको पनि ज्यान जान नपरोस् भन्ने उद्देश्यले सञ्चालन हुने यस्ता अभियानमा सबैको सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो। 
मानवताका लागि रक्त अभियानलाई थप प्रभावकारी रूपमा अगाडि बढाउँदै धार्मिक स्थललाई मानव सेवासँग जोड्ने पवित्र उद्देश्यले कार्यक्रम आयोजना गरिएको विश्व रक्तदाता संगठन नवलपुरका संयोजक सन्तोष वाग्लेले जानकारी दिनुभयो।
विश्व रक्तदाता संगठनका कार्यक्रम संयोजक हरिप्रसाद न्यौपानेले स्वागत गर्नुभएको कार्यक्रमको अध्यक्षता संगठन नवलपुरका संयोजक सन्तोष वाग्लेले गर्नुभएको थियो।
विश्व रक्तदाता संगठन नवलपुर, धार्मिक सेवा समिति मौलाकालिका मन्दिर, मौलाकाली केबलकार,लायन्स क्लब अफ गैडाकोट र वे ग्रुपको संयुक्त आयोजनामा कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमको प्रवद्र्धन गैँडाकोट नगरपालिकाले गरेको थियो भने सहकार्य विश्व रक्तदाता संगठन न्युजरल्यान्ड रहेको थियो ।रक्तदान कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदातालाई प्रोत्साहनस्वरूप निःशुल्क केबलकार टिकटको समेत व्यवस्था गरिएको थियो।