सरकारी अस्पतालमा चिकित्सकको आन्दोलन, प्राइभेटमा बिरामीको भिड

२०८० भदौ ३१ आइतबार १२:३४:०० मा प्रकाशित

चितवन । भरतपुर अस्पतालको ओपीडी टिकट काट्ने लाइन बिहान ७ नबज्दै भीड हुन्छ । चितवन र यसआसपासका १३ भन्दा बढी जिल्लाको रेफरल अस्पताल हो यो ।

आइतबार बिहान पनि ७ नबज्दैदेखि बिरामीहरु अस्पतालको ओपीडि टिकट काट्ने लाइनमा पुगिसकका थिए ।

८ बजेपछि मात्रै काउन्टर खुल्ने भएकोले उनीहरु केहीबेर लाइनमा उभिए । आठ बज्यो तर काउन्टर खुलेन । बरु त्यहाँका कर्मचारीले आज हड्ताल भनिदिए ।

फेसबुक नचलाउने भूमि श्रेष्ठलाई आजको हड्तालबारे थाहा थिएन । ७१ वर्षकी उनी मुटुको जाँच र ढाड दुखेको उपचार गर्न अस्पताल पुगेकी थिइन् ।

अस्पतालको टिकट काउन्टरमा भीडभाड कम देखिन् । यद्यपि लाइनमा पुगेकी उनी मान्छे कोही नदेखेपछि अलमलमा परिन् ।

‘फेसबुक हेरेर आको भए दुःख नहुने रैछ, उनले भनिन्, ‘बुढी मान्छे एक्लै अस्पताल आउन दुःख मात्रै भयो ।’

उनीमात्रै होइन भरतपुर अस्पताल उपचार गराउन आएर फर्किने बिरामी धेरै थिए ।

हेटौँडाकी एक बिरामीको उपचारको क्रममा ज्यान गएपछि डाक्टर कुटिएको घटनालाई लिएर आज देशभरका चिकित्सकले आकस्मिक बाहेकका बिरामीलाई उपचार नगरि स्वास्थ्य संस्था ठप्प बनाएका छन् ।

तर, यहि कारणले सरकारी अस्पतालमा जाने बिरामीले उपचार नपाएपनि निजी भने चलिरहेका छन् । भरतपुर अस्पतालमा उपचार नहुने भएपछि एक बिरामीलाई यहिँको नारायणी सामुदायिक आउन भनेका रहेछन् ।

नजिकै आएर उनले नारायणी सामुदायिक अस्पतालको बाटो सोधिन्, ‘नियमित चेकजाँचमा आएको यता बन्द रैछ, डाक्टर नारायणी सामुदायिक हुनुहुन्छ रे अब उतै जाने ।’

भरतपुर अस्पतालको ओपीडी जाँचमा दैनिक दुई हजार पाँच सय जानासम्म बिरामीले उपचार गराउने तथ्यांक छ । लगातारको सार्वजनिक बिदा भएकोले बीचको एक दिन पनि हड्ताल हुँदा आफूहरु कम खर्चमा उपचार गराउनबाट बञ्चित भएको गुनासो बिरामीहरुको छ ।

भरतपुर १६, बाट उपचारको लागि गएकी सर्मिला थापाले भनिन्, ‘बच्चा लिएर जँचाउन आएको ४ दिन कुर्नुपर्ने भयो । बरु, प्राइभेटमै उपचार गराए सजिलो होला !’

भरतपुर अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले सरकारी मान्यता प्राप्त चिकित्सक संघमार्फत डाक्टरहरूले नै उपचार नगर्ने भन्ने आधिकारिक जानकारी गराएकोले प्रशासनले टिकट नकाटेको बताए ।

उनले कुनै डाक्टरले सरकारीमा हड्ताल गरेर निजीमा बिरामी सिफारिस गरेको पाइएमा कारबाही गर्ने पनि जानकारी दिए ।