देशैभर विद्यालय अनिश्चितकालीन बन्द गर्ने शिक्षकको चेतावनी

२०८० भदौ ३१ आइतबार १८:५३:०० मा प्रकाशित


नवलपुर । विद्यालय शिक्षा विधेयक संशोधन नभएसम्म राजधानी नछाड्ने उद्घोषसहित सामुदायिक विद्यालयका शिक्षक भोलि सोमबारबाट विद्यालय बन्द गरेर राजधानी आउने भएका छन् ।

देशभरका ३० हजार विद्यालयका ६० लाख विद्यार्थीको पढाइमा गम्भीर असर पर्ने गरी शिक्षकहरुको छाता संगठन नेपाल शिक्षक महासंघको अगुवाइमा असोज ३ गतेबाट अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिएका शिक्षकहरूले राजधानीमा दैनिक बानेश्वरदेखि माइतीघरसम्म आन्दोलन गर्ने भएका छन् ।

महासंघका अध्यक्ष कमला तुलाधरले असहमतिका १८ हुँदा संशोधन नभएसम्म विद्यालय बन्द फिर्ता नहुने चेतावनी दिनुभएको छ । महासंघले विधेयक संशोधन नभएसम्म राजधानी नछाड्न सबै शिक्षकलाई अपिल गरिसकेको छ । महासंघको आन्दोलनलाई सबै राजनीतिक दलको शिक्षक संघ–संगठनका साथै निजी विद्यालयका शिक्षकको संस्था निजी विद्यालय शिक्षक युनियन (इस्टु)ले समेत समर्थन गर्ने भएको छ ।

महासंघले शिक्षकको व्यवस्थापन संघीय सरकारले गर्नुपर्ने मुख्य माग अघि सार्दै १८ बुँदे असहमति जनाएको हो । यसअघि संविधानतः मावि तहसम्मको शिक्षाको अधिकार स्थानीय तह मातहतमा रहने व्यवस्था थियो ।