गैँडाकोटमा नारायणी नदीमा डुबेर एकै घरका दुई बालकको मृत्यु

गैँडाकोट । गैँडाकोटमा नारायणी नदीमा डुबेर एकै घरका दुई बालकको मृत्यु भएको छ ।
गैँडाकोट ७ का १५ वर्षिय समिर कुमाल र १० वर्षिय संगम कुमालको आज दिउँसो नुहाउने क्रममा मृत्यु भएको हो । उनिहरु गैँडाकोट ७ कुमाल टोलका सुमन कुमाल र पवित्रा कुमालका छोराहरु हुन् । दुवै छोराहरुको निधन भएसँगै तीजको दिन गाँउ शोकमा डुबेको छ ।
उनिहरु दुवै जना विजय सामुदायिक शिक्षा सदनमा अध्ययनरत विद्यार्थी हुन् ।
आज दिउँसो गाउँकै बालबालिकासँग उनिहरु नारायणी नदीमा नुहाउन गएको बताइएको छ । डुबेको देखेपछि सँगै गएका बालबालिका गाँउमा आएर खबर गरेपछि मात्रै घटनाबारे पत्ता लागेको थियो ।
गाउँबाट गएका स्थानीयले पहिले जेठो छोरालाई उद्धार गरी चितवन मेडिकल कलेजमा उपचारका लागि लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । करिब ३ घण्टापछि स्थानीयले खोजतलास गरी कान्छोलाइ फेला पारेका थिए । दुवै शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको छ ।
घरदेखी नदी करिब २ किलोमिटरको दुरीमा रहेको छ । घटनास्थल गैँडाकोट ७ स्थित प्रस्तावित नेपाल विश्वविद्यालय एवं विपि खेलग्राम स्थल नजिक पर्छ ।