शिक्षा विधेयकको विरोध गर्न गैंडाकोटका शिक्षकहरु आज काठमाण्डौँ जाँदै

गैँडाकोट । गैंडाकोटमा शिक्षक संघ, संगठनका पदाधिकारीहरूको बैठकले शिक्षक सुरेन्द्र राज भट्टराईको संयोजकत्वमा ११ सदस्यीय आन्दोलन परिचालन कमिटी गठन गरेको छ ।
नेपाल शिक्षक महासंघको केन्द्रीय सर्कुलर अनुसार सरकारद्धारा सदनमा पेश गरिएको शिक्षा विधेयकको विरोधमा शिक्षकहरू आन्दोलित बनेका छन् । आफ्ना माग सम्बोधन नभएको भन्दै असोज ३ गतेदेखि विद्यालय बन्द गरी गैँडाकोटका शिक्षकहरू पनि काठमाडौं केन्द्रित आन्दोलनमा सहभागि हुन जाने भएका छन् । आन्दोलनका लागि गठित कमिटीका सदस्यहरूमा सूर्यनाथ तिवारी, नवराज काफ्ले, मोहन भण्डारी, रोशन मल्ल, राजु पुरी, कमलादेवी ढकाल, बाबुराम देवकोटा, कृष्णप्रसाद खरेल, गोविन्दप्रसाद उपाध्याय र कमल पराजुली रहनुभएको छ ।
त्यसैगरी कमिटीको सल्लाहकार समितिमा इन्द्रराज भट्टराई, मणिकण्ठ कण्डेल, चूडामणि शर्मा कण्डेल, विष्णुप्रसाद रिजाल, गोविन्द रिमाल, बलराम रानाभाट, पदमबहादुर खड्का, हिमालदेव पंगेनी, दुर्गादत्त सापकोटा र सबै सामुदायिक विद्यालयका प्र.अ. सदस्य रहने गरि गठन गरिएको छ । बैठकले आन्दोलनका लागि खर्चको प्रबन्ध गर्नेसमेत निर्णय गरेको छ । भोलीदेखि काठमाण्डौँमा हुने आन्दोलनका लागि गँैडाकोटका शिक्षकहरु आज दिउँसो काठमाण्डौँ जाने भएका छन् ।
सरकारले हालै दर्ता गरेको शिक्षा विधेयकको विरोधमा आन्दोलनका कार्यक्रम घोषणा गरेका शिक्षकहरुलाई वार्तामा बोलाएको छ । सरकारले एक विज्ञप्ति जारी गर्दै नेपाल शिक्षक महासंघलाई विद्यालय बन्दका कार्यक्रम स्थगन गरेर वार्तामा आउन आह्वान गरेको हो । सोमबार एक विज्ञप्ति जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै वार्ताबाट समाधान खोज्न आग्रह गरेको हो । मन्त्रालयले महासंघले अघि सारेका मागहरुलाई सकारात्मक रुपमा लिँदै सम्बोधन गर्न सरकार तयार रहेको बताएको छ ।