आज ऋषिपञ्चमी पर्व मनाइँदै

२०८० असोज २ मंगलबार ०६:१८:०० मा प्रकाशित


भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषिपञ्चमी आज नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् । महिलाले आज बिहानै उठेर नित्य कर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्दछन् ।


हरितालिका (तीज) को व्रत एवं पूजाआजा महिला पुरुष दुवैले गर्ने शास्त्रीय वचन रहे पनि ऋषिपञ्चमी भने महिलाका लागि मात्र गर्नुपर्ने शास्त्रीय वर्णन रहेको धर्मशास्त्रविद् रामचन्द्र गौतमले जानकारी दिनुभयो । आज स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ । आज स्नान गरि पूजा आजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कला आदि खाई एक छाक हविष्य बस्नुपर्ने व्रत विधि रहेको छ ।