गैँडाकोटका गण्डकी र कलश सहकारी संस्था एकीकरण हुने  

२०८० असोज २ मंगलबार १७:४८:०० मा प्रकाशित

गैँडाकोट । गण्डकी बचत तथा ऋण सहकारी संस्था र कलश बचत तथा ऋण सहकारी संस्था एकीकरण हुने भएका छन् । एकीकरण हुन लागेका दुवै संस्था गैँडाकोट २ अवस्थित हुन् । एकीकरण प्रक्रियामा अघि बढेका दुवै संस्थाले आज एकीकरणका लागि गैँडाकोट नगरपालिकामा निवेदन दिएका छन् ।

साधारण सभाबाट कार्यक्षेत्र र कार्यप्रकृति मिल्ले अन्य सहकारी संस्थासँग एकीकरण गर्ने भनि गरेको निर्णय अनुरुप एकिकरण गर्न लागिएको गण्डकी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पोषणराज सुवेदीले जानकारी दिनुभयो ।   

गण्डकी २०५१ सालमा स्थापना भई पटक–पटक एकीकरण र नाम परिवर्तन गरी गण्डकी सहकारीका नामले सञ्चालन हुँदै आएको छ । गत २०७९ कार्तिक १ गतेको साधारण सभाले धनबहादुर पौडेलको अध्यक्षतामा एकीकरण कार्यदल बनाएको थियो ।  

२०६९ सालमा स्थापित कलश बचत तथा ऋण सहकारी संस्था भने नेवारी समुदायको आर्थिक सशक्तिकरणका लागि गुठीकै विस्तारित रुपमा सहकारी माध्यमबाट सञ्चालनमा रहेको थियो । बदलिदो परिवेश र आवश्यकताका आधारमा एकीकरण गर्न लागिएको अध्यक्ष सूर्य कुमार श्रेष्ठले जानकारी दिनुभयो । 

गण्डकी सहकारीमा करिब १६ हजार सदस्यको १ अर्ब ९० करोड र कलश सहकारीमा ७ सय सदस्यको करिब ९६ लाख सम्पत्ति रहेको छ । एकै कार्य क्षेत्रमा रहेकाले केही सदस्य दोहोरिन सक्ने जनाइएको छ । गण्डकीको करिब १९ करोड ३० लाख र कलशको करिब ५१ लाख सेयर पूँजी रहेको छ ।    

सहकारी संस्थाको एकीकरण तथा विभाजन निर्देशिका २०७७ को अनुसूची ४ बमोजिम एकीकरण हुन लागेको गैँडाकोट नगरपालिकाले जनाएको छ । यी संस्था एकीकरण हुँदा कसैलाई प्रतिकूल असर गर्ने भए १५ दिन भित्र स–प्रमाण गैंडाकोट नगर कार्यपालिकाको कार्यालयमा लिखित निवेदन पेस गर्न सूचना जारी गरेको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताउनुभयो ।