नवलपुरका पालिका प्रमुखहरू पर्ख र हेरको अवस्थामा, भोली देखि स्कूल नखुल्ने संभावना बढी

गैँडाकोट । विद्यालय शिक्षा सम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता भएको छ । संसदमा विधेयक माथि छलफल सुरु भइसकेको छैन । तर शिक्षकहरु भने विद्यालय शिक्षा विधेयकका केही बुँदामा असन्तुष्टि राख्दै आन्दोलनमा उत्रिएका छन् । बुधबार दिनभर देशभरका शिक्षकहरु काठमाण्डौँमा आन्दोलनमा उत्रिए । काठमाण्डौ महानगर लगायतका केही पालिकाले बालबालिकाको पढ्न पाउने अधिकारबाट शिक्षकले बञ्चित गर्न नहुने बिज्ञप्ती समेत निकालेका छन् । नवलपुरका पालिका प्रमुखहरुले शुक्रबारसम्म पर्ख र हेरको अवस्थामा रहेका छन् ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले शिक्षकहरुले आफ्नो अधिकार प्राप्तिका लागि बालबालिकालाई पढ्न पाउने अधिकारबाट बञ्चित गर्न नहुने बताउनुभयो । बिहीबार देखि पठनपाठन सुरु होलाकी नहोला अन्यौल कायम नै रहेको छ । गैँडाकोट नगरपालिका शुक्रबारसम्म पर्ख र हेरको अवस्थितिमा देखिन्छ । शुक्रबार बैठक बस्ने र परिस्थीति हरेर निर्णय लिने नगरप्रमुख अधिकारीको भनाइ छ ।
यस्तै देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले केन्द्रीय सरकारसँगको माग र आन्दोलन भएकाले आफुहरुले समन्वय मात्र गर्न सक्ने बताउँदै परिस्थिति हेरेर निर्णय लिने बताउनुभयो । उहाँले शिक्षकका सकारात्मक मागमा आफु पनि शिक्षक सँगै रहेको बताउनुभयो ।
शिक्षकले गरेको आन्दोलन शिक्षकको हक हित र अधिकार संरक्षणका लागि भएको मध्यविन्दु नगरपालिकाका नगर प्रमुख भिमलाल अधिकारीको बुझाई छ । पठन पाठन बन्द गर्नु राम्रो पक्ष नभएपनि अहिले प्रभवित कक्षालाई अन्य विदामा समायोजन गर्ने भनेर शिक्षकले लचकता देखाएको पनि उहाँले बताउनुभयो ।
यस्तै बुलिङ्टार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारीले शिक्षक नै आन्दोलनमा उत्रिएपछि स्वभाविक रुपमा पठनपाठन अवरुद्ध हुने बताउनुभयो । उहाँले अहिले नै विद्यालय बन्द र सञ्चालनको निर्णय नभएपनि लामो समय बन्द हुने अवस्था आएमा त्यो हुन नदिन कार्यपालिकाको आकस्मिक बैठक बसेर केही निर्णय गरिने बताउनुभयो ।
देशभरका करिब साढे २ लाख शिक्षकको आन्दोलनले विद्यार्थीको पठनपाठन प्रभावित हुने देखिन्छ । देशभर रहेका करिब ३४ हजार विद्यालयका ७० लाख बालबालिकाको पठनपाठन अवरुद्ध हुनेछ । यता अभिभावक भने विद्यालय बन्द हुने भएपछि बालबालिकाले अध्ययन गर्न नपाउने हुँदा चिन्तीत बनेका छन् ।