गैँडाकोट नगरपालिकाले सच्यायो राजपत्रसँगै क्यालेण्डरको विदाको त्रुटी

२०८० असोज ४ बिहीबार १६:४८:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिकाले राजपत्रसँगै क्यालेण्डरमा समावेश विदा सम्बन्धी त्रुटी सच्याएको छ । थारु समुदायको महान पर्व जितिया पर्वका अवसरमा दिइएको स्थानीय विदा तिथि घटबढ भएको जनाउँदै विदाको मिति परिवर्तन गरेको हो ।

जितिया पर्व यहि असोज २० गते परेको छ । तर गैँडाकोट नगरपालिकाले यसअघि असोज ७ गतेका लागि सार्वजनिक विदा दिएको थियो । अहिले तिथि घटबढ भएको उल्लेख गर्दै गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले सार्वजनिक विदाको मिति संसोधन भएको सम्बन्धी सूचना जारी गरी जितिया पर्व यहि असोज २० गते परेकोले उक्त दिन विदा हुने उल्लेख गर्नुभएको छ ।  


विदा सम्बन्धी त्रुटी सच्याइएको नगरपालिकाको सूचना 

यसअघि गैँडाकोट नगरपालिकाले संघीय तथा प्रदेश सरकारबाट तोकेका विदाहरुका अतिरिक्त ५ दिन स्थानीय विदा दिने निर्णय गरेको थियो । गत २०७९ चैत्र ४ गतेको नगर कार्यपालिकाले विदा दिने निर्णय गरेको थियो । सो सूचना गैँडाकोट राजपत्रमा चैत्र २६ गते समेत प्रकाशन गरेको थियो ।

 

गैँडाकोट राजपत्रमा प्रकाशन गरिएको सूचना 

राजपत्रसँगै नगरपालिकाले प्रकाशन गरेको वार्षिक क्यालेण्डरमा समेत विदा समावेश गरेको थियो । राजपत्र र क्यालेण्डरमा समेत प्रकाशन भएको तिथि र मिति परिर्वतन भएको जनाउँदै सच्याएको हो ।

गैँडाकोट नगरपालिकाको वार्षिक क्यालेण्डर

गैँडाकोटमा राष्ट्रिय जनगणना २०७८ अनुसार ७९ हजार ३ सय ४९ जनसङ्ख्या रहेको छ । जसमध्ये गैँडाकोटमा थारु २ हजार ६ सय ६८ जना रहेका छन् । गैँडाकोटमा रहेका ५० जातजाती मध्ये थारु सातौँ ठूलो जाती हो । 

थारु समुदायले जितिया पर्वको अवसरमा विविध सांस्कृतिक कार्यक्रमको तयारी गरेका छन् । थारु कल्याणकारिणी सभा गैँडाकोटका अध्यक्ष लक्ष्मिप्रसाद चौधरीले यहि असोज १७ गते गैँडाकोट ११ भेडाबारीमा झाम्टा नृत्य प्रतियोगिता एवं विशेष कार्यक्रम गर्न लागिएको जानकारी दिनुभयो ।