भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

२०८० मङ्सिर २३ शनिबार ०६:१०:०० मा प्रकाशित


काठमाडौं । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

दिवसको अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कार्यालय परिसरमा विशेष कार्यक्रम आयोजना गरेको छ । 

संयुक्त राष्ट्रसंघले सन् २००३ डिसेम्बर ९ तारिखमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो ।

राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको दिवस मनाउने गरिन्छ । भ्रष्टाचारविरुद्ध आवाज बुलन्द पार्ने उद्देश्यले हरेक वर्ष दिवस मनाइए पनि भ्रष्टाचार रोकिएको छैन ।

नेपालमा भ्रष्टाचारका नयाँनयाँ रुपहरु देखिँदै आएका छन् । सरकारी कार्यालय र सुरक्षा निकायमा बढी भ्रष्टाचार हुने गरेको बिभिन्न अध्ययनहरुले देखाएका छन् ।

नेपालको संवैधानिक व्यवस्थाअनुसार कुनै सार्वजनिक पदधारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दूरुपयोग गरेको उजुरी आएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कानून बमोजिम अनुसन्धान गर्न वा गराउन सक्छ । नेपालमा भ्रष्टाचारविरुद्ध कामकारवाही गर्ने सरकारी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो ।