मुकुन्दपुर बचत सहकारीमा १ करोड १८ लाख नाफा 

२०८० मङ्सिर २३ शनिबार १८:०४:०० मा प्रकाशित

गैँडाकोट । मुकुन्दपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १ करोड १८ लाख रुपैयाँ नाफा गरेको छ । 

शनिबार हर्कपुरमा भएको १९औँ वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष गोविन्दराज कोइरालाले गत आर्थिक वर्षमा १ करोड १८ लाख रुपैयाँ नाफा गरेको जानकारी दिनुभएको हो । उहाँले सुशासन र समृद्धिमा संस्थाका गतिविधि केन्द्रित रहेको बताउनुभयो ।  

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसिले ठूला–ठूला शहरमा सहकारीका कार्यालय राख्ने र गाउँ–गाउँमा गएर अपचलन एवं दुरुपयोग गर्ने सहकारीका कारण बदनाम भइरहेको बताउँदै सजग हुन आह्वान गर्नुभयो । मुकुन्दपुर बचत सहकारीको वित्तीय अवस्था र व्यवस्थापन हेर्दा उत्कृष्ट सहकारीका रुपमा पाएको उहाँको भनाई थियो । गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले सहकारीको श्रीवृद्धि एवं विकासका लागि नगरपालिकाको तर्फबाट पहल भइरहेको बताउँदै सदस्य पनि सजग भएर कारोबार गर्न आग्रह गर्नुभयो ।    

साधारण सभामा वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै कार्यबाहक सचिव वसन्त कुमार श्रेष्ठले २५ वटा नियमित कार्यक्रमसँगै सदस्य बीमा, बैङ्कङि ई–टेलर, तालिम लगायतका २३ प्रकारका विशेष कार्यक्रम गरिने बताउनुभयो । आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष नारायणप्रसाद कँडेलले ३ करोड ७९ लाख ९८ हजार ३ सय सेयर पूँजी र ३६ करोड १४ लाख २१ हजार ६ सय १२ रुपैयाँ सम्पत्ति रहेको जानकारी दिनुभयो । लेखा संयोजक पूण्यप्रसाद पौडेलले त्रिवर्षिय एवं पञ्चवर्षिय रणनैतिक कार्ययोजना बनाई लागु गर्न, व्यवस्थापन र सञ्चालकहरुको संयुक्त प्रयासमा ऋण असुलीमा ध्यान दिन सुझाव दिनुभयो । 

कार्यक्रमका वक्ताहरुले संस्थाको श्रीवृद्धि, संस्थागत विकास, सदस्य केन्द्रीयता, गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्न सक्षम होस् भनि शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा गैँडाकोट नगरपालिकाका नगर उप प्रमुख शान्ति कोइराला, वडा अध्यक्षहरु गोविन्द सुवेदी, चक्रपाणी कँडेल, जिल्ला सहकारी संघका कोषाध्यक्ष टीकाराम कँडेल, सल्लाहकार संयोजक बलराम शर्मा सुवेदी लगायतको उपस्थिति रहेको थियो । 

उपाध्यक्ष रामचन्द्र धितालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सहजिकरण प्रमुख कार्यकारी अधिकृत सुरज लामिछानेले गर्नुभएको थियो । मुकुन्दपुर बचत सहकारीमा हाल ५ हजार २ सय ५३ सेयर सदस्य रहेका छन् ।