विकूका व्यवस्थापन उप समितिका १६८ जनाद्वारा शपथ ग्रहण 

२०८० मङ्सिर २३ शनिबार १८:०७:०० मा प्रकाशित

गैँडाकोट । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका २४ वटा सेवा केन्द्रका व्यवस्थापन उप समितिका १६८ जनाले शपथ ग्रहण गरेका छन् । शनिबार बेल्डिहामा भएको पदस्थापना तथा शपथ ग्रहण कार्यक्रममा सम्पूर्ण सेवा केन्द्र व्यवस्थापन उप समितिका संयोजकले आफ्नो सेवा केन्द्रलाई उत्कृष्ट सेवा केन्द्र बनाउने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । सेवा केन्द्र व्यवस्थापन उप समितिमा एक संयोजक, एक उपसंयोजक र पाँच सदस्य रहेका छन् । 

संस्थाका अध्यक्ष प्रेमप्रसाद सापकोटा ‘राजु’ले शपथ ग्रहण गराउनुभएको हो । कार्यक्रममा बोल्दै उहाँले हरेक सदस्यको बचतको सुरक्षा गर्ने दायित्व सबै सञ्चालकको रहेको बताउँदै लोभी, पापि र स्वार्थी नबन्न आग्रह गर्नुभयो । वर्तमान समितिले नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिने बताउँदै उहाँले विकूको कार्यक्षेत्रको समृद्धिका लागि सबै जुट्नुपर्ने बताउनुभयो । 

विकूका संस्थापक अध्यक्ष खेमराज सापकोटाले पदिय भूमिकामा रहेर जिम्मेवारी पुरा गर्नु नै सफलता प्राप्त गर्नु रहेको बताउँदै कतब्र्य कहिल्यै नबिर्सन आग्रह गर्नुभयो । विकू नायक सहकारी रहेकोले यसको गरिमा कायम राख्न सहकारीको अध्ययन र गाम्भिर्यताका साथ लाग्न आग्रह गर्नुभयो । 

संस्थाका पूर्व अध्यक्ष इन्द्रराज ज्योती पौडेलले विकूले सुशासन कायम राख्ने र त्यो उचाईमा राख्न व्यवस्थापन तहले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले लिने नभइ दिने काममा जुट्न उप समिति सदस्यलाई आग्रह गर्नुभयो । 

विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले अघिल्लो पुस्ताले बिजारोपण गरेको विकूको गरिमा कायम राख्न आग्रह गर्दै विकूले अगाडी सारेका हरेक सुकृतिहरुलाई सफल बनाउन केन्द्रको तर्फबाट हरदम सहयोग गर्ने बताउनुभयो । 

विजय एफएम र विजय खबर पत्रिकाको सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष त्रिलोचन सापकोटाले कर्मको फल ढिला चाँडो प्राप्त हुने बताउँदै व्यवस्थापन र कर्मचारीको कर्मले गर्व गर्न लायक विकू बनेको बताउनुभयो । 

उपाध्यक्ष कालीदास गौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सहजिकरण प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद पौडेलले गर्नुभएको थियो । 

कार्यक्रममा नव निर्वाचित विजय परिवारका सदस्य संस्था विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटा, विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका अध्यक्ष त्रिलोचन सापकोटा र विजय कन्सलटिङका अध्यक्ष लक्ष्मी गौतमलाई सम्मान गरिएको थियो । त्यस्तै कवि गोविन्दराज विनोदीको शब्द एवं सागर विरही र सुनिता बुढाथोकीको स्वरमा रहेको विकूसँग सम्बन्धित गीतको लोकार्पण गरिएको थियो । १ लाख ३० हजार सदस्य रहेको विकूको करिब १० अर्ब पूँजी रहेको छ ।