निकेशबाबु स्मृति प्रतिष्ठानद्वारा मौलाकालिका गुरुकुलमको अक्षय कोषमा रकम हस्तान्तरण

गैँडाकोट । निकेशबाबु स्मृति प्रतिष्ठानले मौलाकालिका संस्कृत गुरुकुलमको अक्षय कोषमा रकम हस्तान्तरण गरेको छ ।
प्रतिष्ठानको तेस्रो साधारणसभाको अवसरमा मौलाकालिका मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रतिष्ठानले मौलाकालिका गुरुकुलममा पच्चिस हजार अक्षय कोषमा हस्तान्तरण गरेको हो । निकेशबाबुका बूवा एवं प्रतिष्ठानका संरक्षक भरतबाबु कँडेल र आमा एवं अध्यक्ष चोक्षादेवी देवकोटाले पच्चिस हजारको चेक हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा बोल्दै गैँडाकोट १ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मीले निकेशबाबुको सम्झनामा परिवारले प्रतिष्ठान खोलेर समाजिक र शैक्षिक क्षेत्रमा निकै महत्त्वपूर्ण योगदान दिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा बोल्दै निकेशबाबु स्मृति प्रतिष्ठानका संरक्षक, एवं सरस्वती निकेतन आवासिय माध्यामिक विद्यालयका प्रधानाध्यापक भरतबाबु कँडेलले प्रतिष्ठानले विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो । उहाँले विद्यालयमा प्रति विद्यार्थी १० हजारका दरले छात्रवृत्ति प्रदान गर्ने, अक्षयकोष स्थापनामा टेवा पु¥याउन रकम प्रदान गर्ने, गरिब विपन्न विद्यार्थीलाई न्यानो कपडा, शैक्षिक सामग्री हस्तान्तरण गर्ने, रक्तदान, निःशुल्क आँखा परीक्षण, चस्मा वितरण लगायतका काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटा, कालिका संस्कृत विद्यापीठका प्राचार्य रामचन्द्र कँडेल, सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष मोतिचन्द्र चालिसे, प्रतिष्ठानका सदस्य टोलनाथ घिमिरे, जलुके खानेपानीका अध्यक्ष जगन्नथ पौडेल, सप्तऋषि मन्दिरका उपाध्यक्ष काशीनाथ कँडेल लगायतले निकेश बाबुको सामाजिक कामप्रतिको लगाव स्मरण गर्दै, परिवारले उहाँकै नाममा प्रतिष्ठान खालेर सामाजिक काम गरेको बताएका थिए ।
प्रतिष्ठानका अध्यक्ष चोक्षादेवी देवकोटाले प्रतिष्ठानले गर्ने कार्यमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रममा निकेशबाबु स्मृति प्रतिष्ठानका उपाध्यक्ष शकुन्तला न्यौपाने तिवारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सचिव लक्ष्मण कँडेलले गर्नुभएको थियो ।
निकेशबाबुको २०७२ सालमा अमेरिकामा दुर्घटनामा मृत्यु भएको थियो ।