माडी चितई दुर्घटना अपडेट : गम्भीर घाइते लेखापाल सुर्य अधिकारीको मृत्यु

चितवन । माडीको बरुवास्थित चितई खोला पुलमाथि भएको दुर्घटनामा गम्भीर घाइते सोमेश्वर माध्यमिक विद्यालय, माडी-१, बरुवा, चितवनमा कार्यरत लेखापाल सुर्य अधिकारीको मृत्यु भएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते माडी न.पा.-१, बरुवा बजार, चितवन निवासी नेपाली काँग्रेसका युवा नेता एवं सोमेश्वर माध्यमिक विद्यालय, माडी-१, बरुवा, चितवनमा कार्यरत लेखापाल सुर्य अधिकारीको समेत मृत्यु भएको हो ।
दुर्घटनालगत्तै बघौंडा अस्पतालमा प्राथमिक उपचार भई थप उपचारका लागि भरतपुरस्थित सि.एम.सी. अस्पताल लगिएका अधिकारीको मध्यरात करीब १२ः४५ बजे मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ । दिवंगत अधिकारीको हात र खुट्टा लगायत शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो ।
सोही दुर्घटनामा सिम्ता गाउँपालिका-३, आग्रीगाउँ, सुर्खेत निवासी शिक्षक बेगबहादुर खत्रीको उपचारका क्रममा बघौंडा अस्पतालमा शनिवार साँझ करीब ६ः३० बजे निधन भएको थियो । दुर्घटनामा परी घाइते भएका तेश्रो व्यक्ति शिक्षक भुवानी पौडेलको भरतपुरमै उपचार चलिरहेको छ ।
शनिवार साँझ करीब ६ बजे चितई पुलमाथि लु. २ च. २५०८ नम्बरको बोलेरो गाडीले शिक्षकहरू सवार बागमती प्रदेश ०६ ००१ प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा सो भयानक दुर्घटना भएको हो । दुर्घटनामा परेको बोलेरो गाडी र त्यसका चालक साथै दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेका छन् ।