कबडडी प्रतियोगिताको विजेता आमाहरुलाई राधाकृष्ण टोलको सम्मान

२०८० चैत १२ सोमबार १४:४५:०० मा प्रकाशित

गैँडाकोट । फागु पूर्णिमाको अवसरमा गैँडाकोटमा भएको ५ नम्बर वडामा रहेका महिला समूहहरुको अन्तर टोल स्तरीय महिला समूह कबडडी प्रतियोगिताको उपाधि विजेता राधाकृष्ण महिला समूहलाई राधा कृष्ण टोल विकास संस्थाले सम्मान गरेको छ । 

राधाकृष्ण टोलको खेल मैदानमा कबडडी प्रतियोगिताको विजेता टिमलाई सम्मान तथा होली मिलन कार्यक्रममा निधारमा बेलुन अडाउने तथा घैँटो फुटाइ लगायतका होली उत्सव कार्यक्रम गरिएको राधा कृष्ण टोल विकास संस्थाका सचिव सुशील लम्साल जानकारी दिनुभयो ।  

गामवेशी साँस्कृतिक कला केन्द्रको आयोजनामा शनिबार गैँडाकोट स्थित क्षेत्रीय रंगशालामा २५ वर्ष कटेका विवाहित महिलाहरुको १९ वटा समूहलाई पछि पार्दै राधाकृष्ण महिला समूह प्रथम भएको थियो । 

विजेता समूहलाई गामवेशी साँस्कृतिक कला केन्द्रका अध्यक्ष कमलबहादुर कुँवर, गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्की, राधा कृष्ण टोल विकास संस्थाका अध्यक्ष पार्वती सापकोटा लगायतले सम्मान तथा मायाको चिनो प्रदान गर्नुभएको थियो । 

कार्यक्रममा राधा कृष्ण टोल विकास संस्थाका निवर्तमान अध्यक्ष गंगाप्रसाद पौडेल, राधाकृष्ण महिला समूहका कार्यबाहक अध्यक्ष रेनु कुँवर लगायत वडाबासीको उपस्थिति रहेको थियो । 

कार्यक्रमको सहजिकरण शोबनाथ पौडेलले गर्नुभएको थियो ।