गैँडाकोटबाट सुरु भयो पठन संस्कृति अभियान, ज्ञानवर्घक पुस्तक पढ्न सुझाब

२०८१ बैशाख १५ शनिबार १६:५३:०० मा प्रकाशित


गैँडाकोट । गैँडाकोटमा शनिबारबाट पठन संस्कृति अभियान शुभारम्भ भएको छ ।

सामुदायिक रेडियो विजय एफएम १०१.६ र विजय खबर पत्रिका सञ्चालक संस्था विजय सामुदायिक सुचना तथा सञ्चार सहकारी संस्थाको आयोजनामा पठन संस्कृति अभियानको थालनी भएको हो ।  


साहित्यकार डा. नवराज लम्सालले सूचनामुलक भन्दा पनि ज्ञानबद्र्धक पुस्तक पढ्न सुझाब दिनु भएको छ । सूचनामात्र दिने पुस्तकहरूबाट हुन सक्ने खतराबाट पाठक सधैँ सजग रहनुपर्ने बताउनुभएको छ । डा. लम्सालले भन्नुभयो  “आफू शुन्य भएर पुस्तक पढ्न सुरुवात गर्नुपर्दछ । आफूभित्र भएको विचारलाई दिल र दिमागबाट निकालेर नयाँ विचार र ज्ञान लिनसक्ने क्षमता लेखक र पाठक दुबैमा हुन जरुरी रहेको छ ।” लेखकको आफ्नो निजी विचारले भरिएको पुस्तकबाट सचेत रहन डा. लम्सालको सुझाब छ । 


सञ्चारकर्मी दिलभूषण पाठकले नयाँ विचार निर्माण गर्नका लागि पठन संस्कृति आवश्यक भएको बताउनुभयो । विश्वव्यापिकरणको समयमा विचार आयात मात्र होइनकी निर्यात पनि गर्न आवश्यक भएको बताउनुभयो । सञ्चारमाध्यमको उदाहरण दिदै पाठकले भन्नुभयो “ विविसी जस्ता मिडियाले तेस्रो विश्वको गरिबी, अशिक्षा, हिंसा, विभेदलाई मात्र प्रसारण गर्ने गरेको समयमा अलजजिरा, भारतीय चलचित्र, सञ्चारमाध्यमले यहाँका सकरात्मक समाचारलाई विश्वमाझ सम्प्रेषण गर्न सुरु गरेका छन् । आफ्नो समाजको आफ्नो दर्शनको राम्रा पक्ष अरु माझ पु¥याउनका लागि सबैभन्दा पहिला पठन संस्कृतिको नै विकास गर्नुपर्दछ ।”


शिक्षाविद् गोपालप्रसाद भण्डारीले पठनसंस्कृतिको अभियान बालबालिकाबाट सुरु गर्नुपर्ने बताउनुभयो । बालबालिकाबाट सुरु गरिएको संस्कृतिले दीगो प्रभाव पार्ने बताउनुभयो । अक्षर चिन्न नसक्ने उमेरबाट नै बालबालिकालाई चित्रमात्र भएका पुस्तक उपलब्ध गराउन सकिने शिक्षाविद् भण्डारीले बताउनुभयो । 


कालिका संस्कृत विद्यापीठका सहप्राध्यापक डा. मतिप्रसाद ढकालले पठन संस्कृतिका चार आयाम भएको बताउनुभयो । विद्यालयहरूमा एक आयामलाई अनुसरण गर्दै तीन आयामलाई वेवास्था गरिएको बताउनुभयो । पुस्तक पढ्नु, अध्ययन गर्नु, अरुलाई बताउनु र व्यवहारमा लागु गर्नु नै पूर्ण पठन संस्कृति भएको डा. ढकालले बताउनुभयो । 

युवा नेता बद्री सापकोटाले योगमाया पुस्तकमाथि चर्चा गर्दै योगमायाको संघर्षणपूर्ण जीवन कुनै रणभूमिको योद्धाको भन्दा कम नभएको बताउनुभयो । पुस्तक पढ्ने बानीले हरेक चिज हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने बताउनुभयो ।   

कवि तथा राजनीतिक व्यक्तित्व सरस्वती तिमिल्सिनाले महिला स्रष्टाहरूलाई समाजले खोज्नुपर्ने, पढ्नुपर्ने र बुझ्नुपर्ने बताउनुभयो । 

समालोचक उदयराज अधिकारीले पठन संस्कृति अभियानले समाजमा पठनसीपको विकास गर्ने जोड दिनुभयो । 

विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष त्रिलोचन सापकोटाले  समाज डिजिटल युगमा प्रवेश गर्दै गर्दा सामाजिक एकता, भेटघाट, सद्भाव, अध्ययन, विश्लेषण हराउँदै गएको सन्दर्भमा समाजमा पठनसंस्कृतिको अभियानबाट सकारात्मक चिन्तनतर्फ मोड्न आवश्यक भएको बताउनुभएको छ ।

विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाका संस्थापक अध्यक्ष खेमराज सापकोटाले धन्यवाद तथा कार्यक्रमको समापन गर्दै पठनसीपको विकास परिवारबाट सुरु गर्नुपर्ने बताउनुभयो । विजय विकास स्रोत केन्द्रको स्थापनाकालको अभियानलाई यस अभियानले फरक ढंगले अघि बढाउन लागेको हुँदा सफलताको शुभकामना व्यक्त गर्दै सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । 

पहिलो शृंखलामा २० वटा पुस्तकहरु विभिन्न व्यक्तिले अध्ययनका लागि लगेका छन् । प्रत्येक महिनाको अन्तिम शनिबार आफूले पढेका पुस्तकमाथि चर्चा हुनेछ । 

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष इन्द्रराज ज्योवती पौडेल, गोपी खरेल लगाएतको उपस्तिथी रहेको थियो ।