नेविसंघले बुझायो नवलपुरका सबै पालिकामा ज्ञापन पत्र

२०८१ बैशाख ७ शुक्रबार ०६:२४:०० मा प्रकाशित

नेपाल विद्यार्थी संघ नवलपुरले जिल्लाका सबै पालिकामा ज्ञापन पत्र बुझाएको छ । संघले आफ्नो स्थापना दिवसमा विभिन्न विषयवस्तुको उल्लेख गर्दै ६ बुँदे ज्ञापन पत्र बुझाएको संघका जिल्ला अध्यक्ष हरि सुवेदीले जानकारी दिनुभयो । 
संघले हरेका पालिकाले आफ्नो वार्षिक बजेटको २० प्रतिशत रकम शिक्षामा लगानी गर्नुपर्ने माग राखेको छ । संघले माध्यामिक तह सम्म शिक्षामा देखिएका समस्याको समाधान साथै भर्ना शुल्क, परीक्षा शुल्क, मासिक तथा वार्षिक शुल्क, पाठ्य पुस्तक शुल्क, प्रमाण पत्र शुल्क संविधानले ब्यवस्था गरे अनुरुप पूर्णतः निःशुल्क गर्न माग गरिएिको  छ । 
साथै ज्ञापन पत्रमा विद्यालय सुधारका कार्यक्रमहरु, एकै विद्यार्थीले पटक पटक भर्ना गर्नुपर्ने अवस्थाको अन्त्य र निजि विद्यालयमा तोकिएको छात्रवृत्तिलाई प्रभावकारी कार्यान्वयकालागि समेत माग गरिएको छ ।
जिल्लाका ८ वटै पालिकामा पुगेका संघका विद्यार्थीले माग मात्र गरेनन् समाधानका लागि समेत उपायहरु औल्याएका हुन् । संघले देशका सबैपालिकामा बिहीबार शैक्षिक सूधारका लागि ज्ञापन पत्र बुझाउने कार्यक्रम थियो ।