महिलालाई सीप सिकाउँदै जयश्री वन

२०८१ बैशाख ७ शुक्रबार १४:०८:०० मा प्रकाशित


नवलपुर । जयश्री सामुदायिक वन उपभोक्ता समुहले महिला सशक्तिकरणका लागि आधारभुत सिलाई कटाई तालिम सुरु गरेको छ ।

आजबाट सुरु भएको तालिममा गैँडाकोट नगरपालिका वडा नम्बर ४, ५, १, ३ र ८ का २५ दिदिबहिनी सहभागी भएका छन् । जयश्री वनको सभाहलमा सञ्चालन गएको तालिम तीन महिनासम्म चल्ने छ । तालिमको प्रशिक्षकको रुपमा कल्पना थापा अधिकारी रहनुभएको छ । 

सामुदायिक वनले वनको आम्दानी मध्य ३५ प्रतिशत महिला र गरिव, विपन्न समुदायमा लगानी गर्नुपर्ने हुन्छ । सोही कार्यक्रम अन्तर्गत रहेर सिलाई कटाई तालिमको आयोजना गरेको वनका अध्यक्ष भिमबहादुर कुमालले जानकारी दिनुभयो । यसले विपन्न बस्तीलाई माथी उठाउन मद्दत मिल्ने उहाँको विश्वास छ । 

गैँडाकोट नगरपालिकाका नगर उपप्रमुख शान्ति कोइरालाले आगामी दिनमा यस्ता कार्यक्रमहरुमा सामुदायिक वनसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको छ । उहाँले सीप सिकेर आर्थिक उपार्जनमा सहयोग पुग्ने र आर्थिक सुधारले आत्मविश्वासका साथै आत्मसम्मान  बढाउने भएकाले सिकेको सिपलाई सदुपयोग गर्न दिदिबहिनीलाई आग्रह गर्नुभएको छ ।

निवर्तमान अध्यक्ष टोलनाथ घिमिरेले जयश्री वनले विपन्नका लागि कृषि, सीप विकास लगाएको क्षेत्रमा काम गर्दै आएको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो । उहाँले वनले गरेको सहयोगलाई आत्मसाथ गर्दै सीप सिक्नेहरु अगाडि बढ्नुपर्ने बताउनुभएको छ । 

सामुदायिक वनहरूले विपन्न र गरिवीको क्षेत्रमा लगानी गर्नुपर्ने प्रवधान छ । स्थानीय सरकारहरूले पनि यी क्षेत्रमा विभिन्न योजना र कार्यक्रम संचालन गर्छन् । एकै स्थानमा गरिने एकै प्रकृतिका कार्यक्रममा वन र स्थानीय सरकार मिलेर अगाडी बढ्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । 

गैँडाकोट ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले यस्ता तालिमले वडाले पनि गरिबी र महिलाको क्षेत्रमा योजना बनाउने र काम गर्ने भएकाले एउटै उद्देश्य भएका कार्यक्रममा सहकार्य भए कार्यक्रमहरू प्रभावकारी हुने बताउनुभयो । 

त्यस्तै गैँडाकोट ५ का वडा अध्यक्ष रत्न प्रसाद सापकोटाले सिपमुलक कार्यक्रम गर्दा वडा र नगरपालिकासँग पनि सहकार्य गर्नु सुझाव दिनुभएको छ । यसले कार्यक्रमलाई थप प्रभावकारि बनाउने उहाँको भनाइ छ । 

सव डिभिजन वन कार्यलय गैंडाकोट का प्रमुख सुर्य सिह गुरुङले सामुदायिक वनहरुले पहिला पनि थुप्रै तालिम सञ्चालन गरेको तर त्यो त्यति उपलब्धिमुलक नभएको बताउँदै यो तालिम पछि भने यसलाई व्यवशायिक रूपमा अगाडि बढाउन सुझाव दिनुभएको छ। यसमा सामुदायिक वनले पनि व्यवसाय सञ्चालनमा लागि सहयोग गर्न अनुरोध पनि गर्नुभयो ।

वनका सल्लाहकार तिलक प्रसाद पराजुलीले तालिम लिएर पछि स्वरोजगार बन्छु भन्ने हिम्मत र लगनशीलताका साथी अगाडि बढ्न आग्रह गर्नुभएको छ । 

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी, समाजसेवी, कर्मचारी लगाएतको उपस्थिती रहेको थियो । वनका सचिव टेकबहादुर आलेले सञ्चालन गर्नुभएको कार्यक्रममा वनका उपाध्यक्ष ढाका सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो ।