नारायणगढको चमेली बिगबजारमा तेस्रो चितवन जुत्ता चप्पल महामेला २०८१ शुरु 

२०८१ बैशाख ७ शुक्रबार १५:३२:०० मा प्रकाशित


भरतपुर । नारायणगढको चमेली बिगबजारमा आजदेखी तेस्रो चितवन जुत्ता चप्पल महामेला २०८१ शुरु भएको छ ।

नेपालमा उत्पादित जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरुको प्रदर्शनी तेस्रो चितवन जुत्ता चप्पल महामेला शुरु भएको हो ।

महा–मेलाको उद्धाटन बाग्मती प्रदेश वन तथा वातावरण मन्त्री केशब पोख्रेलले गर्नुभयो । उहाँले स्वदेशी उत्पादन विदेश निर्यात गरि बिग बजार नेपाली जुत्ता घरले छुट्टै पहिचान बनाउन सफल भएको बताउँदै प्रदेश सरकारको तर्फबाट सक्दो सहयोग गर्ने बताउनुभयो । 

तेस्रो चितवन जुत्ता चप्पल महा–मेला २०८१ मा ७ वटा स्वदेशी उद्योगबाट उत्पादित २१ वटा सटरमा तीन हजारभन्दा बढी प्रकारका जुत्ता चप्पल राखिएको नेपाली जुत्ता उद्योगी समूहका अध्यक्ष एवं बि एफ डियर हिल सु का अध्यक्ष होमनाथ उपाध्यायले बताउनुभयो ।

मेलाको अवसरमा लेडिज र जेन्स दुबैका लागि आवश्यक सबै प्रकारका जुत्ताचप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुट पाइनुका साथै १५ सय भन्दा बढिको जुत्ता किन्दा उपहार स्वरुप चप्पल सित्तैमा दिइने र यो अफर मेला अवधी सम्म मात्र रहने उहाँको भनाइ छ ।

नेपालमा उत्पादन भएका नेपाली ब्राण्डका जुत्ता चप्पल आम उपभोक्ताहरुले प्रयोग गर्नुपर्छ र सबै नेपालीका खुट्टामा नेपालमै उत्पादित नेपाली ब्राण्डका जुत्ताचप्पल हुनुपर्छ भन्ने उद्देश्यले भरतपुर भ्रमण वर्षको अवसरमा जुत्ताघरले यो महा–मेलाको आयोजना गरेको आयोजक समूहका उपाध्यक्ष जीवन कुमार श्रेष्ठले बताउनुभयो ।

भरतपुर महानगर उप प्रमुख चित्रसेन अधिकारीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै आमउपभोक्ताहरुलाई सेवा दिनुका साथै स्वदेशी गुणस्तरीय उत्पादनको बजार वृद्धि गराउन यो महामेला सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

बिगबजारको २१ वटा शटरमा एउटै छानामुनी स्वदेशी ७ कम्पनी फस्ट वाक शु, डिजे शु, बि एफ डियर हिल शु, क्रस रोड शु, स्मार्ट शु, रान शु र टुरिष्ट शु का १५ भन्दा बढी ब्रान्ड र ३ हजार भन्दा बढी मोडलका जुत्ताचप्पलहरु राखिएका छन ।

सो अवसरमा उद्योग वाणिज्य संघ नारायणगढका उपाध्यक्ष नारायण प्रधान, होटल व्यवसायी महासंघका अध्यक्ष दिनेश कुमार चुके, फुट वयर एशोसियसन नेपालका अध्यक्ष रुद्र प्रसाद न्यौपानेले शुभकामना व्यक्त गर्नुभएको थियो ।