आज महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै

२०८१ बैशाख ९ आइतबार ०६:१५:०० मा प्रकाशित

काठमाडौं । आज महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै छ । हरेक वर्ष चैत शुक्ल त्रयोदशीका अवसरमा महावीर जयन्ती तथा अहिंसा दिवस मनाइँदै आइएको छ ।

दुई हजार ६२३ वर्षअघि यसैदिन वैशालीको क्षेत्रीय कुण्डग्रामका अधिपति राजा सिद्धार्थ एवं रानी त्रिशलाको छोराका रूपमा महावीरको जन्म भएको थियो ।

राजकीय सुखसुविधा त्याग गरी उनले ३० वर्षको उमेरमा कठोर साधना सुरु गरेको बताइन्छ । १२ वर्ष ६ महिनाको कठोर तपस्यापछि सिद्धि प्राप्त गरी उनी मानव कल्याणमा लागेको जैन धर्मका जानकार बताउँछन् ।

मूलरूपमा अहिंसा, अपरिग्रह र अनेकान्त भगवान महावीरका सिद्धान्त मानिएको छ । शान्ति, अहिंसा र पुरुषार्थलाई उनले विशेष जोड दिएको पाइन्छ ।

नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष महावीर जयन्ती मनाउने गरिएको छ ।