गैँडाकोट ७ मा ३५३ जनाको स्वास्थ्य परीक्षण

२०८१ बैशाख १२ बुधबार १७:४२:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट ७ मा भएको निःशुल्क स्वास्थ्य शिविरमा ३५३ जनाले स्वास्थ्य परीक्षण गरेका छन् । जसमा २३६ महिला र ११७ पुरुष रहेका छन् । भिडियो एक्सरे सेवा २०५ जना र मधुमेह परीक्षण १९४ जनाले गरेका थिए ।  

गैँडाकोट नगरपालिका वडा नम्बर ७ को आयोजना तथा नेपाल स्वास्थ्य व्यवसायी संघ गैंडाकोट नगर इकाईको प्राविधिक सहयोगमा एकदिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । 

गैँडाकोट ७ को वडा कार्यालय नजिक हरिहर मन्दिर परमानन्द सन्न्यास आश्रममा भएको शिविरबाट १० जनालाई थप स्वास्थ्य परीक्षणका लागि अन्यत्र अस्पतालमा रिफर गरिएको छ । शिविरमा फिजिसियन डा. विमल पौडेल, स्त्री रोग बिशेषज्ञ डा. रमेश पौडेल, रेडियोलोजिस्ट डा. रजनिस मानन्धर, बाल रोग विशेषज्ञ डा. अविशेष काफ्ले लगायतको चिकित्सक टोलिले स्वास्थ्य परीक्षण गरेको थियो । 

गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले नागरिकको स्वास्थ्य प्रति सचेत बन्दै वडाले गरेको काम प्रशंसा योग्य रहेको बताउनुभएको छ । गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झबिन्द्र खनालले आगामी दिनमा गैँडाकोट नगरपालिका भित्र स्वास्थ्यको क्षेत्रमा नयाँ र रचनात्मक कार्य गर्ने बताउनुभएको छ । 

गैँडाकोट ७ का वडा अध्यक्ष होमनाथ सापकोटाले वडाले स्वास्थ्य, शिक्षा र कृषिलाई पहिलो प्राथमिकता दिएको बताउँदै आगामी दिनमा पनि स्वास्थ्य शिविर गर्ने बताउनुभएको छ ।  
नेपाल स्वास्थ्य व्यवसायी संघ गैंडाकोट नगर इकाईका अध्यक्ष ईश्वरीप्रसाद घिमिरेले कार्यक्रमका विषयमा प्रकाश पार्दै संघको नियमित कार्यक्रम अन्तर्गत शिविर सञ्चालन र सहकार्य गर्दै आएको बताउनुभयो । 

गैँडाकोट ७ का वडा सदस्य तारा त्रिपाठीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजिकरण संघका सचिव खुमप्रकाश पौडेलले गर्नुभएको थियो । 

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, समाजसेवी, विभिन्न संघसंस्थाका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो ।