गैंडाकोटमा वन डढेलो सचेतना तथा अभिमुखीकरण

२०८१ बैशाख १३ बिहीबार १८:१२:०० मा प्रकाशित

गैंडाकोट । गैंडाकोट नगरपालिकामा वन डढेलो सचेतना मूलक र्याली तथा अभिमुखीकरण कार्यक्रम भएको छ ।

वन डढेलो नियन्त्रण तथा व्यवस्थापन कार्यक्रम अन्तरगत डिभिजन वन कार्यालय र जिल्ला वन आपुर्ति समिति नवलपुरको सहयोग तथा ग्रीन फाउण्डेशन नेपाल नवलपुरको व्यवस्थापनमा कार्यक्रम भएको हो ।

स्थानीय सामुदायिक वन समूहका उपभोक्ता, डिभिजन वन कार्यालय नवलपुर, शव डिभिजन वन, सामुदायिक वन उपभोक्ता महासंघ नवलपुर, ग्रीन फाउण्डेशन नेपाल नवलपुरका प्रमुख प्रतिनिधि, सरोकारवालाहरू समेतको सहभागितामा सचेतना मूलक प्ले कार्ड बोकेर गैंडाकोट हुर्चिल गाउँ परिक्रमा गरिएको थियो । वन डढेलो लाग्नबाट जोगिने र डढेलो लागिहाले सुरक्षित रुपमा कसरी नियन्त्रण गर्ने भन्ने बारेमा प्ले कार्ड मार्फत सचेतना प्रदान गरिएको थियो । सचेतना मूलक र्यालीले गाउँ परिक्रमा गरेपछि जनकल्याण सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय नवलपुरका प्रमुख बसन्त केशव अधिकारीले डिभिजन वन कार्यालयले जिल्लाका ग्रामीण क्षेत्रसम्म पुगेर डढेलो लागिहाले नियन्त्रण कसरी गर्ने भन्ने बारेमा समुदायलाई कृतिम घटना अभ्यास मार्फत सचेतना जगाउने काम सम्पन्न गरेको, सुरक्षा निकायलाई डढेलो नियन्त्रणका सामाग्री प्रदान गरिएको र डढेलो रोकथाम, नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी जिल्ला स्तरीय र पालिका स्तरीय अन्तरकृया सम्पन्न गरिसकेको जानकारी दिनुभयो । उहाँले गाउँ गाउँमा डढेलो सम्बन्धी सचेतना जगाउनका लागि गैँडाकोटको विकट क्षेत्रमा सचेतनाको काम अहिले भएको बताउनुभयो । अहिले सुख्खा मौसम डढेलोको जोखिम निकै हुने हुँदा स्थानीय उपभोक्ताहरू नै बढी सजग र सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै ग्रीन फाउण्डेशन नेपाल नवलपुरका अध्यक्ष ठाकुर पाण्डेले वन डढेलो नियन्त्रणमा सबैभन्दा महत्वपूर्ण भूमिका भनेको स्थानीयकै रहने बताउनुभयो । उहाँले घाँस पलाउँछ , च्याउ उम्रन्छ भन्ने सोचले उपभोक्ता आफैले वनमा डढेलो लगाउने काम गर्न नहुने बताउनुभयो । त्यसरी डढेलो लगाउँदा बहुमूल्य वनस्पति , वन्यजन्तु समेतको नास हुने र वातावरण समेत प्रदुषण हुने , जनधनको क्षति हुने हुँदा उपभोक्ताहरू सचेत हुनुपर्ने बताउनुभयो ।