पठन संस्कृतिको शुभारम्भमा नवराज र दिलभूषण आउँदै 

२०८१ बैशाख १३ बिहीबार १८:५५:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोटमा शनिबारबाट पठन संस्कृति अभियानको शुभारम्भ हुँदै छ । सामुदायिक रेडियो विजय एफएम १०१.६ र विजय खबर पत्रिका सञ्चालक संस्था विजय सामुदायिक सूचना तथा सञ्चार सहकारी संस्थाको आयोजनामा पठन संस्कृतिको अभियान सुरु हुन लागेको हो । पुस्तकमाथि समिक्षा गर्दै समसामयिक एवं वैचारिक विषयमा विचार–विमर्श गरिने संस्थाका अध्यक्ष त्रिलोचन सापकोटाले बताउनुभयो । समाज डिजिटल युगमा प्रवेश गर्दै गर्दा सामाजिक एकता, भेटघाट, सद्भाव, अध्ययन, विश्लेषण हराउँदै गएको सन्दर्भमा समाजमा पठनसंस्कृतिको अभियानबाट सकारात्मक चिन्तनतर्फ मोड्न आवश्यक भएको अध्यक्ष सापकोटाले बताउनुभएको छ ।


बैशाख १५ गते शनिबार विहान ११ बजे विजय विकास स्रोत केन्द्रको सभाहलमा पहिलो शृंखलाको शुभारम्भ हुँदै छ । पहिलो दिनको कार्यक्रममा साहित्यकार तथा समालोचक डा. नवराज लम्साल, प्रेरक वक्ता तथा सञ्चारकर्मी दिलभूषण पाठकको विशेष उपस्थिति रहने विजय एफएमका अध्यक्ष त्रिलोचन सापकोटाले जानकारी दिनुभयो । यस अभियानमा बौद्धिक व्यक्तित्वहरूले आफूले अध्ययन गरेका पुस्तकमाथि चर्चा गर्नेछन् । प्रत्येक शृंखालाको चर्चा सामुदायिक रेडियो विजय एफएम १०१.६ बाट प्रत्यक्ष प्रसारण हुनेछन् ।