प्राकृतिक सौन्दर्यता कायम राख्न विज्ञको सुझाव

२०८१ बैशाख १५ शनिबार १७:२८:०० मा प्रकाशित

गैँडाकोट । प्राकृतिक सौन्दर्यता कायम राख्दै प्रक्रिया पुराएर मात्रै नदीजन्य पदार्थको उत्खनन् गर्न विज्ञले सरोकारवालाहरुहरुको ध्यानाकर्षण गराएका छन् । 

जोखिमयुक्त स्थानबाट सुरक्षित तवरले प्रक्रिया पुराएर मात्र नदीजय पदार्थ उत्खनन गर्दा विपद न्यूनीकरण गर्न सकिनेमा विज्ञले जोड दिएका हुन् । सहमति संस्थाको सभाहल गैँडाकोटमा शनिबार दिगो रुपमा नदीजन्य पदार्थको संरक्षण र उत्खनन् अभ्यास सम्बन्धी जनचेतनामुलक कार्यशाला गोष्ठीमा राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यान्वयन एकाई भरतपुर चितवनका प्रमुख श्याम लोप्चनले चुरे क्षेत्रमा नदीजन्य पदार्थहरुको संकलन, असर, कारण, प्रभाव र नीतिहरुबारे प्रस्तुती राख्दै नदीजन्य पदार्थ संकलनका समस्याहरुले राजस्व चुहावट, भू–क्षय तथा नदी कटान, तल्लो तटीय क्षेत्रमा बढी पहिरोको जोखिम बढेको बताउनुभयो । त्यस्तै नदीको फैलावटमा वृद्धि भइ मानव वस्ती र खेतीयोग्य जमिनमा क्षति, भौतिक संरक्षनाहरुमा समेत क्षति, जल पारिस्थिकिय प्रणालीमा आधारित जैविक विविधतामा नकरात्मक असर परेको बताउनुभयो । 

वातावरण विज्ञ निरोज तिमिल्सिनाले नदीजन्य पदार्थको संरक्षण र उत्खनन् नीति तथा मापदण्डका विषयमा अभिमुखिकरण गर्दै संरक्षणमुखि नीति निर्माणमा सबै जुट्नुपर्ने बताउनुभयो । नदी तथा खोलाले निम्त्याउने जोखिमका बारेमा मौखिक रुपमा मात्रै भनेर नहुने, प्राविधिक सहितको विज्ञ टोलीले त्यसको अध्ययन र जोखिम मूल्याङ्कन गरी सप्रमाण सम्बन्धीत निकायमा पेश गर्न सके मात्रै काम गर्न सहज हुने बताउनुभयो । संघ, प्रदेश र वन निकुञ्ज लगायतका कानूनहरु एक आपसमा बाझिदा समस्या उत्पन्न भएको उहाँको ठहर थियो । 

भूगर्वविद प्रदीप पौड्यालले नदीजन्य पदार्थको वितरण प्रबित्ति तथा सुरक्षित एवं दिगो उत्खनन् अभ्यासमा प्रविधिको प्रयोगबारे प्रस्तुतीकरण राख्दै चुरे भएर बग्ने नवलपुरका खोला नदीहरुको तल्लो तटीय क्षेत्रमा थुप्रिएका नदीजन्य पदार्थले ठूलो विपद निम्त्याउन सक्ने हुँदा त्यसका लागि सरोकारवाला पक्षले समयमै नियन्त्रणको कार्य गर्न आवश्यक रहेको बताउनुभयो । 

डब्लु डब्लु एफ, डेनमार्क सरकार तथा सहमतिको सहकार्यमा भएको उक्त गोष्ठीमा सहमतिको ‘प्रकृतिमा आधारित समाधान– टि.बि.पि. परियोजना’ का संयोजक खेमराज खनालले नदीजन्य पदार्थकै कारण संरक्षणका कार्य प्रभावित बनेको बताउँदै सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।

सहमतिका अध्यक्ष होमनाथ सुवेदीले परियोजनामार्फत कावासोतीको गुन्द्रही जलाधार क्षेत्र र चितवनको खगेरी जलाधार क्षेत्रमा विभिन्न काम गर्दै आएको बताउँदै सबैको सहयोगले मात्र आउँदो पुस्ताका लागि प्राकृतिक स्रोत बचाइ राख्न सकिने त्यस्को उपभोग गर्न पाउने बताउनुभयो । 

कार्यक्रममा सामुदायिक वन, मध्यवर्ती क्षेत्र, जलाधार क्षेत्रमा काम गर्ने नवलपुरका सरोकारवालाहरु लगायतको सहभागिता रहेको थियो ।