‘नदीसँगै हामी’ अभियान, घरायसी फोहर पृथकीकरणका लागि अभिमुखिकरण  

२०८१ जेठ ११ शुक्रबार १६:१२:०० मा प्रकाशित

गैँडाकोट । घरायसी फोहर पृथकीकरणका लागि नारायणी नदी तटीय क्षेत्रका नागरिकलाई अभिमुखिकरण गरिएको छ । घरबाट निस्कने फोहरले नदीमा पारिरहेको प्रभाव कम गरी नदीलाई स्वच्छता कायम राख्न नारायणी नदीसँगै जोडिएका गैँडाकोट ५ स्थित विभिन्न टोलबासीहरुलाई अभिमुखिकरण गरिएको हो । कार्यक्रममा नारायणी टोल, बैकुण्ठमार्ग टोल र कुसुमघाट टोलबासीहरु सहभागि थिए ।  

‘नदीसँगै हामी’ अभियान अन्तर्गत यो अभिमुखिकरण गरिएको हो । सहमति संस्थाद्वारा डब्लु डब्लु एफको साझेदारीमा सञ्चालित ‘प्रकृतिमा आधारित समाधान–ट्रिपल बेनिफिट परियोजना’ मार्फत ‘नदीसँगै हामी’ अभियान सञ्चालित छ । बेटर चितवन र लायन्स क्लब अफ गैँडाकोटले सहकार्य गरेका छन् । 

शुक्रबार सहमति संस्थामा भएको कार्यक्रममा प्रमुख अतिथि गैँडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले फोहरबाट जीविकोपार्जन समेत गर्न सकिने भएकोले फोहरलाई मोहरमा परिणत हुनेगरी गर्न र नदीको सभ्यतालाई जोगाउन सबै लाग्नुपर्ने बताउनुभयो । 

सहमतिका अध्यक्ष होमनाथ सुवेदीले नदी सरसफाई राख्न सहमतिले विभिन्न क्रियाकलाप गर्दै आएको बताउँदै यसलाई जोगाइराख्न सबैको भूमिका हुने र नागरिकको त्यो दायित्व समेत भएकाले अभिमुखिकरण गरिएको बताउनुभयो । 

अभिमुखिकरण गर्दै बेटर चितवनका संयोजक सागर कार्कीले फोहरमैला व्यवस्थापन, कुहिने र नकुहिने फोहर वर्गीकरण एवं घरमा भएको फोहर घरमा नै कसरी घटाउने बारे जानकारी गराउनुभएको थियो । कम्पोष्ट मल, गड्यौले मल, प्रयोगमा आउने प्लाष्टिकलाई बजारीकरण गर्ने लगायतका विषयमा घरमा नै पुगेर निःशुल्क सहजिकरण गर्ने समेत बताउनुभयो ।

गैँडाकोट नगरपालिका कृषि शाखाका कृषि अधिकृत कामना भण्डारीले प्राविधिक पक्षबारे जानकारी गराउँदै फोहरबाट मल बनाउने र यसको उपयोगिताबारे अवगत गराउनुभएको थियो । नदीलाई प्रदुषणबाट बचाउन र जलचर जोगाउन बाली एवं माटोमा विषादीको प्रयोग नगर्न उहाँले आग्रह गर्नुभयो । हामीले माटोमा हालेको विषादी बगेर नदीमा जाने र जलीय जीव मर्न सक्ने उहाँले बताउनुभयो । 

सहमतिका कोषाध्यक्ष तारादेवी शर्माले कार्यक्रम समापनको घोषणा गर्दै भान्सामा महिला दिदिबहिनीहरुको भूमिका बढी हुने फोहर पनि भान्साबाट नै शुरु हुने भएकोले त्यो न्यूनीकरण र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुभयो । 

लायन्स क्लब अफ गैँडाकोटको वर्ष २०२४/२५ का अध्यक्ष गोपीचन्द्र रिमालले स्वागत र कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै नदी संरक्षणका लागि अभियान सञ्चालन गरिएको बताउनुभयो ।  

कार्यक्रमको सहजिकरण गर्दै सहमतिको ‘प्रकृतिमा आधारित समाधान–ट्रिपल बेनिफिट परियोजना’ का संयोजक खेमराज खनालले घरबाट निस्कने फोहर नदीसम्म पुग्ने गरेको यसले नदी प्रदुषण समेत हुने गरेकोले यसलाई कसरी कम गर्न सकिन्छ भन्ने हेतुले अभिमुखिकरण गरिएको बताउनुभयो ।