गैँडाकोट ५ र वैदिक आयुर्वेदद्वारा निःशुल्क आयुर्वेद सेवा प्रदान 

२०८१ असार ९ आइतबार १४:१८:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ५ को आयोजना एवं वैदिक आयुर्वेदिक सेवा प्रालिको प्राविधिक सहयोगमा आइतबार गैँडाकोट रिसोर्टमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमार्फत आयुर्वेद सेवा प्रदान गरिएको छ ।    

शिविरमा करिब २५० जनाले आयुर्वेद स्वस्थ्य सेवा लिएको गैँडाकोट ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले जानकारी दिनुभयो । वडाबासीहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमार्फत आयुर्वेद सेवा प्रदान गरिएको उहाँले बताउनुभयो । यसअघि वडाबासीहरुलाई एक दिने योग अभ्यास तथा स्वास्थ्य आहार बिहार सम्बन्धी प्रशिक्षण कार्यक्रम समेत सम्पन्न गरेको उहाँले बताउनुभयो । 

वैदिक आयुर्वेदिक सेवा प्रालिका सञ्चालक चक्रपाणी न्यौपानेले देशका विभिन्न स्थानमा शाखा कार्यालय समेत राखी आयुर्वेद सेवा प्रदान गर्दै आएकोमा सामाजिक उत्तरदायित्त्व अन्तर्गत यसपटक गैँडाकोट ५ मा सहकार्य गरी आयुर्वेद सेवा प्रदान गरिएको बताउनुभयो । 

विभिन्न स्थानमा स्वस्थ रहन योग अभ्यासदेखी शिविर गर्दै आएको जनाउँदै उहाँले आयुर्वेद सेवाप्रति आकर्षण बढेको समेत उल्लेख गर्नुभयो । 

शिविरमा रोगको पहिचान गरी स्वास्थ्य अवस्था हेरी आयुर्वेद उपचारमार्फत ग्याष्ट्रिक, बाथ, पायल्स, सुगर, कपाल झर्ने, खुट्टा दुख्ने, शरीर दुख्ने, लगायतका बिरामीलाई निःशुल्क आयुर्वेद औषधी प्रदान गरिएको थियो । वडामा नै आयुर्वेद सेवा लिन पाएकोमा सेवाग्राही तथा वडाबासीहरुले खुसी व्यक्त गरेका थिए । 

यसअघि योग, प्राणायम र ध्यान, आयुर्वेदको महत्त्व र उपचार पद्धती, अमृत भोजन लगायतका विषयमा प्रशिक्षण गरिएको थियो । नगर कार्यपालिका सदस्य शन्ति न्यौपाने, वडा सदस्यहरु द्रोणवन सन्यासी, तुलसीप्रसाद गौतम, उषा परियार लगायत वडाबासीहरुको सहभागिता रहेको थियो ।