विजय विकास स्रोत केन्द्रको स्थापना दिवशमा सहकारी संवाद

२०८१ असार २६ बुधबार १९:०८:०० मा प्रकाशित


गैँडाकोट । विजय विकास स्रोत केन्द्रको ४६ औँ स्थापना दिवशको अवसरमा गैँडाकोटमा सहकारी संवाद गरिएको छ । “सहकारीमा सुशासन ः असल अभ्यास, चुनौतीहरु र अबको बाटो” विषयमा सहकारी विज्ञहरुबीच छलफल गरिएको छ । छलफलमा काठमाण्डौ विश्वविद्यालयका रजिष्ट्रार प्राध्यापक डाक्टर अच्युत वाग्लेले सहकारी ऐन, सहकारीको सञ्चालन र अभ्यासको तालमेल नमिल्दा सहकारीमा समस्या देखिएको बताउनुभयो ।


संस्थागत विकास एवं सुशासन विज्ञ नम्रता शर्माले सहकारीहरुभित्र वित्तिय सचेतनाकै कमिका कारण समस्या सिर्जना भइरहेको बताउनुभयो । सहकारीमा जान्ने सुन्ने बर्गकै नियतका कारण समस्या थपिएको शर्माले बताउनुभयो । 


नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीहरुले सुशासनलाई ध्यान दिन नसकेकै कारण सहकारीहरु समस्याग्रस्त भएको बताउनुभयो । 


राष्ट्रिय सहकारी बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईंले साना सहकारीमा सामाजिक भावना छ, ठूला सहकारीमा वित्तिय अनुशासनको संस्कार नहुँदा समस्या बढेको बताउनुभयो । 


सामाजिक एवं राजनीतिक विश्लेषक हरि शर्माले विश्वासले सिर्जना गरेको समुदायभित्रको सहकारीमा समस्या नभएको र सहकारीलाई पैसाको दृष्टिकोणबाट मात्र नभएर सामाजिक महत्त्वका क्षेत्रबाट पनि हेर्न जरुरी रहेको बताउनुभयो ।

 
समूह छलफलमा सहकारी विज्ञ केशवप्रसाद सापकोटाले सहजीकरण गर्नुभएको थियो ।  कार्यक्रममा विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष प्रेम सापकोटा र महिला मिलन बचत तथा ऋण सहकारी संस्थाका प्रमुख व्यवस्थापक फुलमाया मोक्तानले सहकारीका असल अभ्यासका सन्दर्भमा प्रस्तुती राख्नुभएको थियो ।

कार्यक्रममा विजय विकास स्रोत केन्द्रका उपाध्यक्ष खड्गजङ्ग गुरुङले अतिथिहरुलाई स्वागत एवं धन्यवाद ज्ञापन गर्नुभएको थियो । औपचारिक कार्यक्रमको सञ्चालन संस्थाका सचिव डा. भूमिराज चापागाईंले गर्नुभएको थियो । 


विजय विकास स्रोत केन्द्रका अध्यक्ष कृष्णप्रसाद सापकोटाले सामाजिक सद्भाव, सहकार्य, सहअस्तित्वको भावनालाई अघि बढाउन विजय विकास स्रोत केन्द्रले विभिन्न संस्थाहरुसँगको सहकार्यमा कार्यक्रम गर्ने नीति लिएको बताउनुभयो । संवाद कार्यक्रमको सहकार्यमा विकू सहकारी, विजय एफएम र विजय खबर पत्रिका रहेका थिए ।

स्थापना दिवशको विहानको समयमा संस्थाले कालिका संस्कृत विद्यापीठको परिसरमा वृक्षरोपण गरेको छ । विभिन्न प्रजातिका विरुवा वृक्षरोपण गरेको विजय विकास स्रोत केन्द्रले वातावरण र पर्यावरण संरक्षणमा सहयोग पु¥याएको गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले बताउनुभयो । 


४६ औँ स्थापना दिवशका अवसरमा विहान ७ बजे कालिका संस्कृत विद्यापीठको परिसरमा वृक्षरोपण कार्यक्रम पश्चात स्थानीय समाजसेवी व्यक्ति वेदप्रसाद गौडेलले वृक्षरोपण गरिएको विरुवाहरुको संरक्षणका लागि कोष खडा गर्दै रु ५ हजार सहयोग गर्नुभएको थियो । सो कोष र रकमको व्यवस्थापन कालिका संस्कृत विद्यापीठले गर्ने छ । 


आज भन्दा ४५ वर्षअघि २०३६ सालमा सामाजिक विकास संस्थाका रुपमा स्थापित केन्द्रले सामाजिक हित र स्वतन्त्रताका पक्षमा वकालत गर्दै आएको छ । यसले प्रवद्र्धन गरेका संस्थाहरुले पाएको ख्याती, केन्द्रले गरेका काम र सिकाई समाजका लागि अनुकरणिय रहेका छन् ।