अवतरणका क्रममा भैरहवा विमानस्थल रनवेबाट चिप्लियो बुद्धको जहाज

२०८१ असार २८ शुक्रबार ०८:२९:०० मा प्रकाशित

रूपन्देही– गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण गर्ने क्रममा बुद्ध एयरको विमान रनवेबाट चिप्लिएको छ । 

बिहीबार राति काठमाडौंबाट गएको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर करिब ५ मिटर बाहिर पुगेको हो । जहाजको एकातर्फको चक्का माटोमा गाडिएको छ ।

पूर्वबाट पश्चिमतर्फ अवतरणका क्रममा जहाज चिप्लिए पनि सबै यात्रु सकुशल रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रमुख एसएसपी रमेशकुमार बस्नेतले बताएका छन् ।  

जहाज चिप्लिएपछि बुद्ध एयर र नागरिक उड्डयन प्राधिकरणका प्राविधिकले चेकजाँच गरेका छन्। रनवेबाट बाहिर गएको जहाजलाई तानेर पार्किङ एरियातिर ल्याउने प्रयास भइरहेको छ । 

यो जहाज बिहीबार राति साढे ९ बजे काठमाडौंबाट भैरहवाका लागि उडेको थियो ।

रनवेबाहिर पुगेको जहाज निकाल्न नसकिएपछि शुक्रबार बिहान अन्य उडान हुन सकेका छैनन्। अहिले वर्षाका कारण जहाजलाई निकाल्न कठिनाइ भएको हो ।