मौलाकाली फेदीको राधाकृष्ण मन्दिरमा २४ घण्टे अखण्ड हरिकिर्तन जारी
गैँडाकोट नगरपालिका वाडन नं. १ को मौलाकाली फेदीमा अवस्थित राधाकृष्ण मन्दिरमा २४ घण्टे अखण्ड हरिकिर्तन जारी रहेको छ ।
विगत ४४ वर्षदेखि हरेक वर्ष धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले अखण्ड हरिकिर्तन कार्यक्रम गर्दै आएको छ । वि.सं. २०३७ सालमा धार्मिक सेवा समिति श्रीकृष्णजन्माष्टमीकै दिन गठन भएको थियो । त्यतिबेलादेखि धार्मिक सेवा समिति मौलाकालिका मन्दिरले मौलाकालिका फेदी गणेश मन्दिर परिसरमा श्रीकृष्णाष्टमीका अवसरमा अखण्ड हरिकिर्तन गर्दै आएको मन्दिरका कार्यवाहक अध्यक्ष खगेन्द्रदास कंडेल (खगराज) ले बताउनुभएको छ ।
सोमबार विहान ८ बजेदेखि सुरु भएको २४ घण्टे अखण्ड हरिकिर्तन मंगलबार विहान ८ बजेसम्म हुनेछ । यस क्षेत्रका भजनकिर्तन समूह, आमा समूह, महिला समूह, टोलविकास संस्थाका समूहरुको सक्रियतामा अखण्ड किर्तन कार्यक्रम गरिएको मौलाकालिका मन्दिरका सचिव श्यामसुन्दर पराजुलीले बताउनुभयो ।
राधाकृष्ण मन्दिरको निर्माण समाजसेवी सिद्धकुमार श्रेष्ठले गर्नुभएको थियो । मन्दिरका सल्लाहकार समेत रहनुभएका सिद्धकुमार श्रेष्ठले हरेक वर्ष गोप्यदानको सहयोगले अखण्ड भजनकिर्तन कार्यक्रम हुँदै आएको छ । कृष्णाष्टमीमा अवसरमा पाल टाँगेर कार्यक्रम हुने गर्दथ्यो । त्यतिबेला नै कृष्ण मन्दिर निर्माणका लागि आफूलाई प्रेरणा मिलेर मन्दिरको निर्माण गरेको समाजसेवी श्रेष्ठले बताउनुभयो ।
मौलाकालिका फेदीमा जारी अखण्ड हरिकिर्तन मंगलबार विहान ८ बजे वैदिक विधिपूर्वक समापन हुने मौलाकालिका मन्दिरका सचिव श्याम सुन्दर पराजुलीले विजय एफएमलाई जानकारी दिनुभएको छ ।