विजय सामुदायिकका सैन्यशिक्षार्थीको तालिम अनुगमन तथा उत्प्रेरणा प्रदान  

२०८१ भदौ ११ मंगलबार १६:५७:०० मा प्रकाशित

गैँडाकोट । राष्ट्रिय सेवा दल (नेशनल क्याडेट क्रप्स) को जुनियर डिभिजन तालिममा सहभागी विजय सामुदायिक शिक्षा सदनका विद्यार्थीहरुको तालिम अनुगमन तथा उत्प्रेरणात्मक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका क्याडेट (सैन्यशिक्षार्थी) को ३६ औँ दिनको तालिमपछि विजय सामुदायिक शिक्षा सदनको प्रावि ब्लकमा मंगलबार तालिम अनुगमन तथा उत्प्रेरणात्मक प्रवचन कार्यक्रम गरेको हो । 

श्री राष्ट्रिय सेवा दल मध्य तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी वासु शरण खड्काले क्याडेट (सैन्यशिक्षार्थी) छात्र/छात्राको तालिम अनुगमन गर्नुका साथै उत्प्रेरणात्मक प्रवचन दिनुभएको थियो । उहाँले छोटो समयमा नै विद्यार्थीले गरेको प्रदर्शन सेनाले गर्ने प्रदर्शन भन्दा कम नरहेको बताउनुभयो । अघिल्लो वर्षका विद्यार्थीहरुले गरेको प्रदर्शनले विद्यालयको गरिमा बढेको बताउँदै त्यो कायम राख्न सक्षम हुनुहोस् भनि शुभकामना व्यक्त गर्नुभयो । जुनियर डिभिजन तालिमले व्यक्तिगत वृद्धि विकास, शारीरिक विकाससँगै देश विदेशमा अवसर समेत प्राप्त हुने उल्लेख गर्नुभयो । हालसम्म देशभर ८० हजार बढीले तालिम लिएको र यसको संगठन स्थानीय तहसम्म विस्तार गर्न लागिएको बताउनुभयो । यसले सबैसँग घुलमिल गराउन, देशको सामाजिक पक्षमा सहभागी हुन सघाउ पुग्ने उहाँको भनाई थियो ।  

कार्यक्रमका प्रमुख अतिथि गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले प्राप्त तालिमले विद्यार्थीहरुको भविष्य उज्जवल बन्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले विद्यार्थीहरुलाई आत्मसुरक्षाका लागि सहयोग हुने बताउँदै आगामी दिनमा राष्ट्र सेवामा लाग्न अनुरोध गर्नुभयो । तालिम पूर्ण नहुँदै प्रर्दशन गरेको मार्चपास कला कौशलको प्रशंसा गर्दै उहाँले आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्ने आशा व्यक्त गर्नुभयो । 

गैँडाकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रेम सापकोटाले बालबालिकालाई अनुशासन, आत्मरक्षा र समाजसँग घुलमिल हुन सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले अघिल्लो ब्याजका सैन्य शिक्षार्थीले गरेको उत्कृष्ट प्रदर्शनले विद्यालय र गैँडाकोट नगरपालिकाको प्रतिष्ठा बढेको बताउँदै आउँदो दिक्षान्त समारोहमा समेत उत्कृष्ट प्रदर्शन गर्न सकोस् भनि शुभकामना व्यक्त गर्नुभयो ।  

विजय सामुदायिक शिक्षा सदन सञ्चालक संस्था विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडका उपाध्यक्ष एवं विद्यालय व्यवस्थापन समिति उपाध्यक्ष परमेश आचार्यले अनुशासन, आत्मरक्षा तथा भवितव्य आईपरे समुदायमा सघाउ पुग्ने हेतुले यस कार्यक्रममा विद्यार्थीहरुलाई सहभागी गराइएको बताउनुभयो । ४९ औँ जुनियर डिभिजनको पहिलो वार्षिक सामुहिक क्याम्पमा उत्कृष्ट प्रदर्शन गर्ने क्याडेट र सहयोगी सम्पूर्णमा आभार व्यक्त गर्दै उहाँले आगामी दिनमा पनि त्यो गरिमा कायम राख्न प्रतिवद्ध रहेको बताउनुभयो । 

विजय सामुदायिक शिक्षा सदन विद्यालय व्यवस्थापन समितिका कोषाध्यक्ष तथा गैँडाकोट खेलकुद समितिका अध्यक्ष लक्ष्मण कार्कीले स्वागत गर्दै विद्यार्थीहरुलाई किताबी ज्ञानमा मात्रै सिमित नराखी उनिहरुको चौतर्फी विकासका लागि राष्ट्रिय सेवा दलको तालिम सञ्चालन गरिएको उल्लेख गर्नुभयो ।  

विजय सामुदायिक शिक्षा सदनका पूर्व अध्यक्ष टिकाराम कँडेल, गैँडाकोट ५ का वडा सदस्य द्रोणवन सन्न्यासी, विभिन्न टोल विकास संस्थाका प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, खेलकुदका प्रतिनिधिहरु, अभिभावक लगायतको उपस्थिती रहेको थियो । 

यसअघि राष्ट्रिय सेवा दल मध्यपूर्वी तालिम शिक्षालय बर्दिबासमा सञ्चालित ४९ औँ जुनियर डिभिजनको पहिलो वार्षिक सामुहिक क्याम्पमा ९ वटा जिल्लाबाट सहभागीता जनाएका १६ वटा विद्यालयका ५७६ क्याडेटहरू मध्ये विजय सामुदायिक शिक्षा सदनका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गर्दै क्याम्पबाट सर्वोत्कृष्ट विद्यालय हुन सफल भएको थियो ।

यसपटक पनि विजय सामुदायिक शिक्षा सदनबाट ५० औँ ब्याजका लागि १८ जना छात्र र १८ जना छात्रा गरी ३६ क्याडेटहरू सहभागी रहेको विद्यालय प्रधानाध्यापक चक्रधर पौडेलले जानकारी दिनुभयो । 

राष्ट्रिय सेवा दल मध्ये तालिम शिक्षालय हात्तिखोर ब्यारेकका प्रशिक्षकहरु प्रेम बानियाँ र राजकुमार शर्माले प्रशिक्षण दिइरहनुभएको छ ।