समुदायलाई गँड्यौला मल प्रविधिबारे अभिमुखीकरण गर्दै गैँडाकोट इङ्गलिस स्कुल

२०८१ भदौ १२ बुधबार ११:००:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ८ मा भर्मि कम्पोष्ट (गँड्यौला मल) प्रविधिबारेमा समुदायलाई जानकारी गराइएको छ । गैँडाकोट–१ मा रहेको गैँडाकोट इङ्गलिस स्कुलको आयोजना तथा गैँडाकोट नगरपालिका वडा नम्बर ८ कार्यालय एवम् सोही वडाको कालिका महिला सञ्जालले कार्यक्रमको संयोजन गरेका थिए ।  

‘विद्यालय र समुदायको संयुक्त आह्वान, दिगो विकास लक्ष्य प्राप्तिमा योगदान’ भन्ने मूल नाराका साथ सञ्चालनगरिएको अभिमुखीकरणमा सहभागीहरुलाई विद्यालयका प्रिन्सिपल हीरालाल अर्यालले उत्प्रेरणात्मक भनाइ राख्नुभएको थियो । अभिमुखीकरणमा सहभागीहरुलाई विद्यालयकी भर्मि कम्पोष्ट आउटरिच संयोजक अष्मिता श्रेष्ठ तथा विद्यालयका जनसम्पर्क तथा सूचना अधिकृत श्रीहरि चालिसेले सहजीकरण गर्नुभएको थियो । 

सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले सामाजिक कार्यहरु गर्नुपर्छ भन्ने मान्यता राख्दै विद्यालयले समुदायमा कार्यक्रम गर्दै आएको विद्यालयका सामाजिक सम्पर्क तथा सञ्चार अधिकृत श्रीहरि चालिसेले बताउनुभयो । विश्वव्यापीरुपमा बढ्दै गइरहेको जलवायु परिवर्तन र वातावरण प्रदूषणलाई न्यूनीकरण गर्नका लागि जैविक मल व्यवस्थापनमा विद्यालयले गँड्यौला मल निर्माण अभियान सुरु गरेको चालिसेले बताउनुभयो । 

भान्छामा हरेक दिन प्रयोग हुने तरकारी तथा फलफूलमा विषादीको प्रयोगले मानव स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दै गइरहेको छ । विषादीसहित अर्गानिक खाद्यान्नको प्रयोग बढाउन सकेमा स्वस्थ जीवन जीउन मद्दत पुग्ने आम उपभोक्ताको भनाइ छ । गैँडाकोट–८ मा रहेको कालिका महिला सञ्जालकी कार्यबाहक अध्यक्ष पार्वती ज्ञवाली सापकोटाले अन्य मलभन्दा गँड्यौला मल राम्रो र अर्गानिक हुने भएकाले यसबारेमा समुदायलाई प्रशिक्षण दिइएको बताउनुभयो । 

गँड्यौला मलको बारेमा वडावासीलाई जानकारी गराउँदा उनीहरुको भान्सामा विषादीरहित खाद्यान्न पुग्न सहयोग गर्ने भएकाले यसबारे अभिमुखीकरण गरिएको वडा कार्यालयले जनाएको छ । गैँडाकोट–८ का वडाध्यक्ष प्रेम सापकोटाले वडाभित्रको फोहोर व्यवस्थापन गर्नका लागि उपायहरु खोजीरहेको अवस्थामा गैँडाकोट इङ्गलिस स्कुलले प्रस्तावना पेस गरेपछि आफूहरु सहकार्य गरेको बताउनुभयो । वातावरण स्वच्छ राख्न, आफ्नो बारीमा प्रयोग गर्ने मल आफैले उत्पादन गर्न र पैसाको बचत गर्न तथा फोहोर व्यवस्थापनमा सहयोग पुग्ने भएकाले वडावासीलाई गँड्यौला मलबारे प्रशिक्षण दिएको बताउनुभयो ।