मौलाकाली सामुदायिक वनको साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन गर्दै
गैँडाकोट । मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैँडाकोटको २२ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगर प्रमुख मदनभक्त अधिकारीले मौलाकाली वनले गरीबी निवारण, महिला सशक्तिकरणका क्षेत्रमा प्रशंसनीय कार्य गरेको बताउनुभयो ।
डिभिजन वन कार्यलय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले मौलाकाली सामुदायिक वनले वन विकासका सबै पक्षमा सन्तुलित काम गरेको बताउनुभयो ।
मौलाकाली सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटाले विपन्नहरूलाई स्वरोजगार तालिम, सहुलियत दरमा विपन्नहरूलाई वन पैदावर बिक्रि वितरण, सामुदायिक वनको संस्थागत विकासमा कार्य समितिले क्रियाशील भई काम गरेकोमा धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
मौलाकाली सामुदायिक वनका सचिव देवकी मिश्रले सामुदायिक तथा संस्थागत विकास कार्यक्रम, आयआर्जन सीप विकास, गरीबी न्यूनिकरणका प्रभावकारी नीति तथा कार्यक्रम अघि सारिएको बताउनुभयो ।
सामुदायिक वनका कार्यवाहक सह–कोषाध्यक्ष केशवहरि पौडेलले सामुदायिक वनले गत आर्थिक वर्षमा वन पैदावर बिक्रि वितरणबाट ६२ लाख १७ हजार ३ सय ८७ रुपैयाँ आम्दानी गरेको बताउनुभयो । गतवर्ष संस्थाले कुल ८४ लाख ४५ हजार ८ सय ८० रुपैयाँ आम्दानी तथा १ करोड ९ लाख ५१ हजार २ सय ५४ रुपैयाँ कुल खर्च गरेको सहकोषाध्यक्ष केशवहरि पौडेलले बताउनुभयो ।
कार्यक्रममा गैंडाकोट १ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद रेग्मी, गैंडाकोट २ का वडा अध्यक्ष प्रकाश सापकोटा, सामुदायिक वन उपभोक्ता महासंघ गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष खगराज सापकोटा, संस्थाका पूर्व अध्यक्ष काशिनाथ कंडेल, धनबहादुर पौडेल, डिलाराम कंडेल, सब डिभिजन वन कार्यालय गैंडाकोटका प्रमुख सूर्यसिंह गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
लेखा तथा सुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्दै संयोजक शशिचन्द्र सिग्देलले सामुदायिक वनले करिव २१ हजार जनताहरुलाई प्रत्यक्ष अप्रत्यक्ष घाँस, काठ, दाउरा लगायतका वन पैदावरबाट लाभ पुराएको बताउनुभयो । आर्थिक वर्ष २०८०/८१ मा ४४५४.४२ क्युफिट काठ बिक्रि भएको जानकारी दिनुभयो ।
अनुगमन तथा मुल्याङ्कन समितिका संयोजक वेदप्रसाद गौडेलले सामुदायिक वनको कार्यसमिति र उपसमितिले साधारण सभाले दिएका जिम्मेवारी पुरा गरेको बताउनुभयो । पर्यटनको क्षेत्रमा थप लगानी गर्न उहाँले सुझाव दिनुभएको छ ।
महिला शसक्तिकरण उपसमिति संयोजक इन्दिरा शर्माको प्रतिवेदनमा मौलाकाली सामुदायिक वनमा ६० प्रतिशत महिला उपभोक्ता भएको उल्लेख गरिएको छ । वृक्षरोपण तथा जडीबुटी उपसमितिका संयोजक ठाकुर सापकोटाको प्रतिवेदनमा गणेश मन्दिर आसपासमा फलफूल तथा जडीबुटीका बिरुवा वृक्षरोपण गरिएको उल्लेख गरिएको छ ।
वन पैदावर बिक्रि वितरण उपसमितिका संयोजक भगवान घिमिरेको प्रतिवेदनमा ४४ सय ५४ दशमलब ४१ क्यूफिट काठ वितरण भएको उल्लेख छ ।
गरीब तथा विपन्न उपसमितिको संयोजक धना पौडेलको प्रतिवदेनमा वनले यस वर्ष १९ विपन्न घर परिवारको स्वास्थ्य बिमा गरिएको उल्लेख रहेको छ ।
कार्यक्रममा नारायणी सामुदायिक वनका अध्यक्ष दिनानाथ त्रिपाठी, नेपाल रष्ट्रिय समशेर आदर्श माविका प्रधानाध्यापक इन्द्रराज भट्टराई लगायतले शुभकामना राख्नुभएको थियो । कार्यक्रमका स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष भगवान घिमिरेले गर्नुभएको थियो भने कार्यक्रमको सहजिकरण संस्थाका सचिव देवकी मिश्रले गर्नुभएको थियो ।
यसैबीच संस्थाको आठौँ अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दैछ । निर्वाचन प्रक्रिया अघि बढेको छ ।