पानीमा लगानी, सहमतिको प्रयासमा सामुदायिक वनमा सिमसार निर्माण

२०८१ भदौ २५ मंगलबार ११:४२:०० मा प्रकाशित

चितवन । सिमसार प्रकार्य मानव, वन्यजन्तु र प्रकृतिका लागि अपरिहार्य छ । स्वच्छ वातावरण निर्माण र पानीको मूहान संरक्षण गर्न पनि सिमसार आवश्यक छ ।

गैँडाकोट स्थित सहमति संस्था र सामुदायिक वनहरुको प्रयासमा थालिएको सिमसार निर्माण कार्यले साकार रुप लिदैँ गएका छन् । सहमतिका अध्यक्ष होमनाथ सुवेदी सिमसार मानव, वन्यजन्तु र प्रकृतिका लागि अपरिहार्य रहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नेचर बेस सोलुसन भनेर समुदाय, प्रकृति र जलवायुको क्षेत्रमा लाभ मिल्ने गरी नवलपुरको गिन्द्रही र चितवनको खगेरी जलाधार क्षेत्रमा सामुदायिक वनसँगको सहकार्यमा नै यस्ता पोखरी निर्माण गरेका छौँ ।” 

चितवन नवलपुरका हिजो सुख्खा देखिने केही स्थान अहिले पानीले भरिएका छन् । यसले समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा त्रिपक्षीय लाभ मिलिरहेको छ । उहाँले भन्नुभयो, “सहमतिले वातावरणीय क्षेत्रमा उल्लेखनिय काम गरेको छ भन्ने लाग्छ । विभिन्न ठाउँमा फायर लाईन निर्माण, मूहान संरक्षण, बायो ड्याग, बायो ईन्जिनियरिङ्का काम गरी संरक्षणका क्रियाकलाप सँगै जीविकोपार्जनका कार्यक्रम सञ्चालन गरेका छौँ ।”  

संरक्षणमुखी क्रियाकलाप सञ्चालन गर्दै आएको सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदीले यसले वातावरणीय क्षेत्रमा उल्लेखनीय योगदान पुराएको बताउनुभयो । उहाँले भन्नुभयो, “भोलीका दिनमा यसले पर्यटकलाई आकर्षण गर्नेछ भन्ने लाग्छ ।”   

“सिमसार तथा संरक्षण पोखरी निर्माणपछि समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा त्रिपक्षीय लाभ मिलिरहेको छ ।

इच्छाकामना गाउँपालिका ७ चितवनको कालीखोला देउराली सामुदायिक वनमा निर्माण गरिएको सिमसार तथा संरक्षण पोखरी निर्माणपछि वन्यजन्तुका लागि पानी पिउन सहज भएको छ । कालीखोला देउराली सामुदायिक वनका अध्यक्ष रामबहादुर गुरुङले भन्नुभयो, “सहमतिको सहयोगले हामिलाई बनाउन पनि सहज भएको छ, सुख्खा मूहान रिचार्ज पनि भएको छ भने वन्यजन्तुको आगमन पनि बढेको छ ।” 

निर्माण गरिएका सिमसार क्षेत्रमा वन्यजन्तु, चराचुरुङ्गीको आवागमन बढेको छ । अहिले यस पोखरीमा माछा राखिएको छ । यसले भोलीका दिनमा वनको आय बढाउने विश्वास गरिएको छ । “यहाँ पोखरी निर्माण गरेपछि अहिले दायाँबाया पनि पानीको मूल उठ्न थालेको छ ।” उहाँले भन्नुभयो ।

यसले प्रकृतिमा सुन्दरता थपिएको छ भने समुदाय पनि लाभान्वित भएका छन् । अध्यक्ष गुरुङले पानीको मूहान संरक्षण र पर्यपर्याटनको अवधारणा अघि सारेको बताउनुभयो । उनले थप्नुभयो, “भोलीका दिनमा यहाँ आन्तरिक पर्यटकका लागि फिसिङको व्यवस्था गर्ने सोच बनाएर पोखरीमा माछा हालेर रेखदेख पनि गर्दै आएका छौँ ।” 

चितवनकै इच्छाकामना गाउँपालिका ७ स्याङ्दीको चण्डिथान सामुदायिक वन घोरल मृगको बासस्थान हो । पर्याप्त पानी नभएको अवस्थामा यहाँ पोखरी निर्माण गरिएको छ । वनका अध्यक्ष अमृत गुरुङले सुख्खा पोखरीले वन्यजन्तुका लागि लाभ हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यहाँ घोरल मृग आउने गरेकोले यो सुख्खा ठाउँमा त्यस्ता जनावरलाई पानी खान मिलोस् भनेर पोखरी निर्माण गरेका हौँ, त्यो पनि सहमति संस्थाले सहयोग गरेर सफल भएको हो ।”

उहाँले सुख्खा पोखरी भएकोले यहाँ हिउँदमा पानी नअडिएको खण्डमा समेत खोलाको पानी पाइपको माध्यमबाट ल्याएर भएपनि हाल्ने र जनावरका लागि सहज पानी उपलब्ध गराउने बताउनुभयो । उहाँले भन्नुभयो, “हिउँदमा पानी नअडिए नजिकै खोला छ त्यहाँको पानी पाइपबाट ल्याएर भएपनि हाल्ने योजना बनाएको छु । ” 

इच्छाकामना गाउँपालिका ७ गर्दासस्थित तीनकन्या सामुदायिक वनमा निर्माण गरिएको सिमसार तथा संरक्षण पोखरीले वनको आय बढाउनेमा वनका अध्यक्ष मानबहादुर मगर ढुक्क हुनुहुन्छ । मगरले भन्नुभयो, “जनावरलाई पानी खान पनि भयो, सामुदायिक वनमा त्यति ठूलो आम्दानी नभएकोले बोट सञ्चालन गरेर पर्यटक भित्र्याउने र आम्दानी गर्न सकिन्छ की भन्ने लागेको छ ।” 

संरक्षणकर्मीहरु सिमसारको दिगो संरक्षणका लागि सचेत छन् तर लगानी महत्त्वपूर्ण रहेकोमा जोड दिन्छन् । अध्यक्ष मगरले सिमसार तथा संरक्षण पोखरीलाई पर्यटकीय स्थलको रुपमा विकसित गर्ने योजना अघि सार्नुभयो । जहाँ बोटिङको व्यवस्था गरेर आय बढाइने छ । उहाँले भन्नुभयो, “पर्यटकीय स्थलका रुपमा विकसित गर्नका लागि अझै सहयोग मिल्छ की भन्ने आश पनि गरेका छौँ ।”

समुदाय, वन्यजन्तु र जलवायुको क्षेत्रमा त्रिपक्षीय लाभ हुनेगरी डब्लु डब्लु एफको आर्थिक सहयोगमा नवलपुरको गिन्द्रही र चितवनको खगेरी उपजलाधार क्षेत्रमा यस्ता सिमसार तथा संरक्षण पोखरी निर्माण गरिएका छन् । सामुदायिक वनमा निर्माण गरिएको सिमसार क्षेत्रले मानव र प्रकृति संरक्षणमा ठूलो टेवा पुगेको छ । त्यसको अलवा स्थानीय समुदायहरुलाई प्राकृतिक स्रोतहरूमाथिको निर्भरता घटाउँदै, वन तथा जलिय पारीस्थितिकिय प्रणालीको संरक्षण, पुनस्थापना र व्यवस्थापन गर्न र तिनीहरूको जीविकोपार्जन उत्थान गर्ने प्रकृतिमा आधारित समाधानहरूको खोजी गरिदैँछ ।