देउराली वनले ५ विपन्न परिवारलाई घर हस्तान्तरण गरेको छ – अध्यक्ष मुक्मि मगर
गैँडाकोट । देउराली सामुदायिक वन उपभोक्ता समूह गैँडाकोट ३ को गत आर्थिक वर्षमा आम्दानी भन्दा खर्च धेरै भएको छ । सामुदायिक वनको लेखा परिक्षण प्रतिवेदन अनुसार वनको वार्षिक आम्दानी १ करोड १९ लाख ४८ हजार ५५९ भएको देखिन्छ भने खर्च १ करोड ५३ लाख ७० हजार ७ सय ६६ भएको देखिन्छ । यस सामुदायिक वनले वन संरक्षण तथा विकास खर्च १८ लाख ६५ हजार, सामुदायिक विकास कार्यक्रम १५ लाख ९३ हजार, गरिबी निवारण महिला सशक्तिकरणका लागि ३० लाख १३ हजार लगायतको खर्च गरेको देखिन्छ ।
सामुदायिक विकास कार्यक्रम अन्तर्गत कृष्णगण्डकी माध्यामिक विद्यालयलाई ६ लाख ५० हजार, खेलकुदको विकासमा १ लाख ४९ हजार, बाटो सरसफाई र ग्राभेलका लागि ४ लाख ३३ हजार, गुम्बा निर्माण सहयोगका लागि २ लाख खर्च गरेको छ । गरिब बिपन्न बर्गको घर निर्माणमा १८ लाख ५६ हजार खर्च गरेको छ । उद्यमशील कृषकका लागि ८ लाख, गरिब जेहेन्दार विद्यार्थीका लागि ३० हजार, महिला उद्यमी भवन निर्माण १ लाख ६९ हजार खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।
वनका अध्यक्ष नरबहादुर मुक्मि मगरले सामुदायिक वनले वनको संरक्षण, संस्थागत विकास, विरामी उपचार, शैक्षिक विकास, सडक निर्माण लगायतका विभिन्न क्षेत्रमा काम गरेको बताउनुभयो । अध्यक्ष मगरले सामुदायिक वनले विपन्न परिवारका लागि ५ वटा घर निर्माण गरी हस्तान्तरण गरिएको बताउनुभयो ।
देउराली वनका सचिव कृष्ण मायाँ पोख्रेलले वनले आयआर्जन बृद्धिका लागि महिला सशक्तिकरण कार्यक्रम, शौचालय निर्माण, डढेलो नियन्त्रण जस्ता कार्यमा सामुदायिक वनले काम गर्दै आएको बताउनुभयो ।
देउराली सामुदायिक वनका कोषाध्यक्ष कृष्णबहादुर विकले सामुदायिक वनले मृतक राहत कोष, शिक्षण संस्थामा सहयोग र महिलाका लागि सीप विकासमा सामुदायिक वनले महत्त्वपूर्ण कार्य गर्दै आएको बताउनुभयो ।
बिहिबार संस्थाको परिसरमा भएको साधारणसभामा जिल्ला डिभिजनल वन अधिकृत बसन्त केशव अधिकारी, गँैडाकोट ३ का अध्यक्ष शिवकान्त तिवारी, जयश्री सामुदायिक वनका अध्यक्ष भीमबहादुर कुमाल, मौलाकाली सामुदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटा लगायतले समूहको सफलताका लागि शुभकामना दिएका थिए ।
कार्यक्रममा संस्थाका उपाध्यक्ष एकबहादुर गुरुङले स्वागत गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सहसचिव शम्भुप्रसाद तिवारीले गर्नुभएको थियो । संस्थाको ९ औँ अधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनको प्रक्रिया जारी रहेको छ ।