भेडाबारी सामुदायिक वनको साधारण सभा सम्पन्न
गैँडाकोट । भेडाबारी सामुदायिक वन उपभोक्ता समूह गैँडाकोट ११ र १२ को १८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ भने सातौँ अधिबेशनले नयाँ कार्यसमिति चयन गर्दैछ ।
शनिबार समूहको कार्यालय परिसरमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि वनका संस्थापक अध्यक्ष एवं गैँडाकोट ११ का वडा अध्यक्ष गोविन्द सुवेदीले वैज्ञानिक वन खारेज गर्दैगर्दा उपभोक्तालाई पर्ने मर्काबारे राज्यले ध्यान नदिएका कारण वनले ठूलो समस्या झेल्नुपरेको बताउनुभयो । तथापी वनले सञ्चालन गरेका कार्यक्रमले स्थानीय उपभोक्तालाई लाभ मिलिरहेको बताउँदै आगामी दिनमा पनि उपभोक्ता हितका कार्यक्रम सञ्चालन गर्न सुझाब दिनुभयो । वनले सञ्चालन गर्ने कार्यक्रम वडासँगको समन्वयमा गर्न सके बढी भन्दा बढी उपभोक्ताले लिन सक्ने र प्रभावकारी हुने समेत उहाँको भनाई थियो ।
गैँडाकोट १२ का वडा अध्यक्ष चक्रपाणी कँडेलले भेडाबारी सामुदायिक वनले सिमसार निर्माण, वृक्षरोपण, महिला सशक्तिकरणका क्षेत्रमा गरेको कामको प्रशंसा गर्नुभएको थियो । अझै उहाँले आगामी वर्षका कार्यक्रम पनि जनमुखी र संरक्षणमुखी गर्न गराउन सुझाब दिदैँ नयाँ आउने कार्यसमितिले त्यसतर्फ जोड दिनुपर्ने बताउनुभयो ।
वनका सल्लाहकार, निवर्तमान अध्यक्ष एवं गैँडाकोट ११ का वडा सदस्य गुरुप्रसाद पौडेलले सबैको सहकार्यले मात्र वन संरक्षण कार्यले सफलता पाउने बताउँदै सबैको हातेमालो हुन जरुरी रहेको बताउनुभयो । आउने नयाँ कार्यसमितिले पनि सबैलाई समेटेर अघि बढ्न सके सबैको भलो हुने उहाँको भनाई थियो ।
सब डिभिजन वन कार्यालय गैँडाकोटका फरेस्टर दिनेश केसीले वन ऐन, नियमावलीको पालना गरेर वन व्यवस्थापनका कार्य अगाडी बढाए कहिल्यै समस्या नआउने बताउनुभयो । उहाँले वनहरुमा अब ढलापडाको छपान कार्य भएपछि कार्यालय सञ्चालन सहज बन्दै जाने बताउनुभयो ।
सामुदायिक वन उपभोक्ता महासंघ स्थानीय महासंघ गैँडाकोटका अध्यक्ष निर्मला कँडेलले स्थानीयको सक्रियतामा सामुदायिक वनमा गरिएका संरक्षणमुखि क्रियाकलापले नै आज जंगल हराभरा भएको बताउँदै त्यस्को उपभोग पनि उपभोक्ताले गर्न पाउनुपर्ने बताउनुभयो ।
उपभोक्ताका तर्फबाट बोल्दै भिष्म धितालले विपन्न परिवारको उत्थान तथा आम्दानीको स्रोत बढाउने खालका कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।
भेडाबारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष क्याप्टेन वीरबहादुर शाहीले वैज्ञानिक वन खारेज भएपछि आर्थीक स्रोत नहुँदा कर्मचारीलाई तलबदेखी संस्था सञ्चालनमा समेत कठिनाईको सामना गर्नुपरेको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैमा आभार समेत व्यक्त गर्नुभयो । वनका सचिव सरिता सापकोटा ढकालको प्रगति प्रतिवेदन वाचन गर्दै लेखा संयोजक बाबुराम पराजुलीले वनले सिमसार निर्माण, वन गोडमेल, अग्नि रेखा निर्माण, बीउ पूँजी कार्यक्रम, पर्यटन प्रर्वद्धन लगायतका कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । लेखा सुपरीवेक्षण प्रतिवेदन समेत प्रस्तुत गर्दै लेखा संयोजक पराजुलीले समितिका काम कारवाही र गतिविधि पारदर्शी रहेको उल्लेख गर्नुभयो ।
वनका कोषाध्यक्ष भोजबहादुर महतोले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा सञ्चालक समिति सदस्य पार्वती कँडेल खरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा कार्यपालिका सदस्य उर्मिला विक, वडा सदस्यहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो अवसरमा विभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको थियो ।
वनमा १३५७ उपभोक्ता घरधुरी सदस्य रहेको वनका कार्यालय सचिव तिलक कँडेलले जानकारी दिनुभयो ।
भेडाबारी सामुदायिक वन उपभोक्ता समूहको सातौँ अधिबेशनले नयाँ कार्यसमिति चयन गर्नेछ । सर्वसम्मत नयाँ कार्यसमिति चयन गर्न गराउन निर्वाचन प्रक्रिया एवं छलफल शुरु भएका छन् ।