गण्डकी प्रदेश महोत्सव ६ दिन थपियो

२०८१ मङ्सिर १० सोमबार ०८:२४:०० मा प्रकाशित


नवलपरासी पूर्व  । नवलपुरको गैँडाकोटमा सञ्चालन भइरहेको गण्डकी प्रदेश महोत्सव ६ दिन थप गरिएको छ । आजसम्म सञ्चालन हुने भनिएको महोत्सव मङ्सिर १६ गतेसम्म थप गरिएको महोत्सव मूल समिति संयोजक एवम् नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले जानकारी दिनुभयो । 


यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, फिस टनेल हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका मूल संयोजक भट्टचनले जानकारी दिनुभयो । 


महोत्सवको सांस्कृतिक कार्यक्रममा सोमबार आज हाउडे माया (सिर्जना खत्री), ऋतु थापा, लालुमाया कुँवर, मधु परियार, प्रियंका भण्डारी, रवि राना, गोकुल कँडेललगायतको प्रस्तुती रहने सांस्कृतिक उपसमितिका संयोजक किशोर लम्सालले बताउनुभयो ।