दम रोगबाट कसरी बच्ने ?
 
    बिजय खबर चिसो बढेसँगै मानिसहरूमा विभिन्न रोगहरुले सताउने गर्दछ । गलत खानपान होस् या अस्वस्थकर जीवनशैलीका कारण मानिसहरुले स्वास्थ्यमा समस्या भोग्नुपर्दछ । चिसो मौेसममा वृद्ध, बालबालिका वा सबै उमेरका मानिसहरुमा श्वासप्रश्वासको समस्या बढी देखापर्दछ । धेरै समयसम्म धुलो धुवाँमा काम गर्ने, वायु प्रदुषण, वंशाणुगत, एर्लजीका कारण मानिसहरुमा दम रोग देखापर्ने चिकित्सक बताँउछन् ।
दम श्वासप्रश्वास प्रणालीसँग सम्बन्धित एक दीर्घकालीन रोग हो, जसमा श्वास नलीहरु सूजन हुन्छन् र साँघुरा बन्छन् । दमले मुख्यतः श्वासप्रश्वासलाई प्रभावित गर्छ, जसका कारण मानिसहरुमा श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, सास फेर्दा थकान महशुश गर्ने जस्ता समस्याहरु देखापर्दछन् । भरतपुर सामुदायीक अस्पतालका कन्सल्टेण्ट फिजिसियन डा. महेन्द्र कुमार अग्रहरी ।
दमको लक्षणहरु विभिन्न कारणहरुले गर्दा उत्पन्न हुन्छन्, जसमा एलर्जी, धुलो, धुँवा, चिसो हावा, शारीरिक गतिविधी, प्रदूषण वा मानसिक तनाव आदि हुन्। श्वासप्रश्वासको समस्याबाट सिओपिडी र ब्रोन्केयर आस्मा  हुने गर्दछ । श्वास नलीमा एलर्जी भई सास फेर्न गाह्रो हुने अवस्थामा ब्रोन्केयर आस्मा हुने गर्दछ भने धुम्रपान गर्ने र धुवाँ धुलोमा लामो समयसम्म बस्ने मानिसहरुमा सि ओ पि डी आस्मा हुने गर्दछ ।  एक्कासी सास फेर्न गाह्रो हुने , अक्सिजनको मात्रा कमी भई श्वासप्रश्वासमा कठिनाई हुने, खोकी लाग्ने, आँखा चिलाउने, वाकवाकी लाग्ने, घाँटी चिलाउने, कहिलेकाही पेट दुख्ने जस्ता लक्षणहरु दम रोगीहरुमा देखापर्ने डा. अग्रहरी बताउँछन् । 
धेरैजसो मानिसहरुमा खानपानका कारण दम हुने कुरामा आशंका छ । चिसो समयमा तातो खाना खानुका साथै फ्रिजका खानेकुरा नखाने र खाना खाँदा मिलाएर थोरै थोरै खानु पर्दछ । जुनसुकै समयमा वा अवस्थामा दम बढ्न सक्ने र अस्पताल जान टाढा भएको अवस्थामा आफूले प्रयोग गर्ने दैनिकी औषधी आफ्नो साथमा राख्नुपर्ने  चिकित्सकको भनाई छ । दम लागेका व्यक्तिहरुले बढी धुवाँ धुलोमा नहिड्ने, हिड्नै परे माक्सको प्रयोग गर्ने, दैनिक व्यायाम गर्ने, थेरापी गर्ने, एर्लजी हुने वस्तुबाट टाढा हुने, धुम्रपानको सेवन नगरेमा यसबाट बच्न सकिनुका साथै चिकित्सकको सल्लाहअनुसार औषधी उपचार गर्नुपर्ने डा. महेन्द्रकुमार अग्रहरी बताउँछन् । 
दम एक दीर्घकालीन र वंशाणुगत रोग हो । यो रोगको पूर्ण उपचार भने छैन, तर यसलाई औषधी र जीवनशैली परिवर्तन गरेर नियन्त्रणमा राख्न सकिन्छ ।   
 
 
															 
                             
                             
                             
                             
						 
                            
                            
                            
                             
											 
											 
											 
											 
											 
											 
											 
                            