गैँडाकोटमा तनावमुक्त जीवनका लागि योग शिविर
योगाभ्यास गर्न पाउँदा नागरिक खुसी

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नं. ४ को कार्यालयको आयोजनामा तनावमुक्त एवं खुसीयाली जीवनयापनका लागि २८ दिनसम्म योग शिविर सञ्चालन भएको थियो । हेल्दी टाइम्स हार्मोनी योगा शिवीरमा सहभागि बन्न पाउँदा स्थानीय खुसी भएका छन् ।
गैँडाकोट ४ की अनिता काफ्लेलाई ग्याष्ट्रिकको समस्या र ढाड दुख्ने समस्याले सधैँ सताउने र दुख दिने गथ्र्यो तर प्रत्येक दिन बिहान ५ बजे सञ्चालन हुने योगाभ्यासमा सहभागि भएपछि समस्या र दुखाई कम भएको उहाँको अनुभव छ ।
उहाँ मात्रै होइन त्यहा दैनिक २ सय जना जम्मा भएर योग गुरुमार्फत योग र ध्यानको अभ्यास गरेका थिए । योगाभ्यासमा सहभागि बन्न पाउँदा धेरै कुरा जान्ने र सिक्ने अवसर पाएको हिरा थापाको भनाई छ । उहाँलाई यस अवसरले खुसी बनाएको छ ।
निरन्तर योगाभ्यासमा सहभागी हुनुभएका टिकाराम वाग्लेले वडाले सराहनिय काम गरेको बताउदैँ यसले जीवनशैलीलाई सरल र सहज बनाएको बुझाई छ ।
गैँडाकोट नगरपालिकाका नगरप्रमुख मदनभक्त अधिकारीले योग अभ्यासलाई दैनिक जीवनमा समावेश गर्नुपर्नेमा जोड दिँदै, शिविरमा सहभागीहरूमाझ निरन्तर अभ्यासको महत्वबारे प्रकाश पार्नुभयो । उहाँले घरमा पनि निरन्तर अभ्यास गर्न र स्वस्थ बन्न आग्रह गर्नुभयो ।
गैँडाकोट वडा नं. ४ का वडा अध्यक्ष तेजप्रसाद घिमिरेले वडाबासीको स्वास्थ्य र स्फूर्त जीवनशैलीका लागि यस्ता कार्यक्रम अत्यन्तै आवश्यक रहेको बताउनुभयो । उहाँले भौतिक विकास मात्र विकास नभएर मानसिक र शारिरीक रुपमा स्वस्थ हुनु मुख्य कुरा भएको बताउनुभयो । आगामी दिनहरूमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना रहेको वडा कार्यालयले जनाएको छ ।
चार हप्तासम्म सञ्चालन भएको योग शिविरमा अमनदीप सिंह र विष्णुसिंह क्षेत्रीले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षक अमनदीप सिंहले योगले स्वस्थ बन्न र आफ्नो शरीरको आफै डाक्टर बन्न सघाउने हुँदा सबैको लागि योगाभ्यास र यसको ज्ञान आवश्यक रहेको बताउनुभयो । उहाँले आफुले प्रशिक्षण गराएको बिभिन्न योगाभ्यासका बारेमा पनि जानकारी गराउनुभएको छ ।
शिविरमा समाजसेवी टोलनाथ घिमिरे, वडा सदस्यहरु धनमाया परियार, हरि पौडेल तथा सामाजिक संघसंस्था, टोल विकासका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूले योगबाट हुने शारीरिक तथा मानसिक फाइदाको अनुभव साझा गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । चार हप्तासम्म सञ्चालन भएको योग शिविरले स्थानीयहरूलाई तनावमुक्त जीवनयापन गर्ने तरिका सिकाएको आयोजकले जनाएको छ । वडा सदस्य इन्द्रकला घिमिरेले औपचारिक शत्र कार्यक्रमको सहजिकरण गर्नुभएको थियो भने कार्यपालिका सदस्य शान्ता घर्तिले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।