डेढ वर्षपछि भेटिए विद्यालयबाट हराएका ८ ल्यापटप

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका-५ मा रहेको पार्टीडाँडा माध्यमिक विद्यालयबाट हराएका ८ ल्यापटप डेढ वर्षपछि फेला परेका छन् । विद्यालयबाट हराएका ८ ल्यापटप बोरामा पोको पारेर पुरिएको अवस्थामा फेला परेका हुन् ।
ह्युमन प्राक्टिस फाउन्डेसन (एचपिएफ)ले शैक्षिक गुणस्तर सुधार कार्यक्रमअन्तर्गत आइसीटी कक्षा स्थापनाका लागि विद्यालयलाई ११ वटा ल्यापटप हस्तान्तरण गरेको थियो । हस्तान्तरण भएको सोही ल्यापटप केही समयमै (वि.स २०८० पुस २२ गते) राति विद्यालय फोरेर चोरी भएको थियो । चोरी भएका ११ ल्यापटप मध्ये ३ ल्यापटप फेला परे पनि बाँकी फेला नपरेकोमा अहिले बाँकी ८ वटै ल्यापटप सोही वडाको पित्तोलुङ भन्ने स्थानमा फेला परेको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो ।
प्रहरी, वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक र स्थानीयले खोजतलास गर्दा ती ल्यापटप फेला परेका हुन्। अध्यक्ष वनेमले घटनामा संलग्न व्यक्तिको खोजी गरी सार्वजनिक गर्न र कानुनअनुसार कारवाही अघि बढाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको ध्यानाकर्षण गराएका छन्।