रास्वपाद्धारा गैँडाकोटको भृकुटीचोकमा हस्ताक्षर कार्यक्रम सम्पन्न

२०८२ असार १९ बिहीबार २१:०३:०० मा प्रकाशित

  गैँडाकोट ( राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) गैँडाकोट वडा नम्बर २ ले सभापति रवि लामिछानेमाथि भइरहेको राजनैतिक प्रतिशोधको विरोधमा हस्ताक्षर अभियान सञ्चालन गरेको छ । भृकुटीचोकमा आयोजना गरिएको सो कार्यक्रम आज सम्पन्न भएको हो।


कार्यक्रम वडा सभापति शिव लम्सालको अध्यक्षतामा सम्पन्न भएको थियो भने जिल्ला सभापति नरिश्वर लामिछाने प्रमुख अतिथि र नगर सभापति विमल घिमिरे विशेष अतिथि रहनु भएको थियो । कार्यक्रममा ५०० जनाले सहभागिता जनाउँदै हस्ताक्षर गरेका छन् ।कार्यक्रममा बोल्दै जिल्ला सभापति नरिश्वर लामिछानेले जनताबाट चुनिएर आएका नेताहरूमाथि योजनाबद्ध ढंगले षड्यन्त्र गरिँदै आएको आरोप लगाए । “रवि लामिछानेको लोकप्रियता, प्रतिवद्धता र परिणामप्रति डराएर केही शक्तिहरूले उहाँलाई रोक्न अनेक षड्यन्त्र गरिरहेका छन्,” उनले भने, “तर जनताको साथले यस्ता चलखेलहरू असफल हुनेछन्।”


त्यसैगरी, नगर सभापति विमल घिमिरेले हस्ताक्षर अभियान जनमतकै पक्षमा गरिएको भन्दै नागरिक सहभागितालाई ऐतिहासिक भने । उनले भने, “हामी मौन बस्ने छैनौं, जनताले विश्वास गरेका नेताको बचाउ जनताकै साथबाट हुन्छ भन्ने सन्देश आजको कार्यक्रममा देखियो।”
वडा नम्बर २ मा मात्रै हालसम्म २५० बढी सदस्य रहेको जानकारी दिँदै रास्वपाले आगामी दिनमा यस्ता कार्यक्रम थप सशक्त रूपमा अघि बढाइने बताएको छ। कार्यक्रममा रास्वपाका अन्य स्थानीय नेताहरू, युवाहरू तथा सर्वसाधारणको समेत उपस्थिति रहेको थियो।